उद्योग वाणिज्य महासङ्घको नयाँ नतृत्वका लागि आज मतदान, ७३ पदका लागि १३७ जना चुनावी मैदानमा


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नतृत्वका लागि आज मतदान हुँदैछ ।

हिजोदेखि सुरु भएको ६० औँ साधारण सभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो ।

विधानअनुसार अध्यक्षमा भने वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत अध्यक्ष चयन हुनेछन् ।

वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र महिला उपाध्यक्ष नयाँ नयाँ केन्द्रीय कार्यकारिणी समितिले चयन गर्ने छ । बाँकी नेतृत्वका लागि काठमाडौँको कमलादीमा रहेको प्रज्ञाप्रतिष्ठानमा विहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

यसपटक दुई समूह चुनावी मैदानमा छन् । यसपटक एउटा समूहको नेतृत्व अञ्जन श्रेष्ठले गरेका छन् भने अर्को नेतृत्व हेमराज ढकालले गरेका छन् ।

७३ पदका लागि कुल १३७ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन समितिका अनुसार जिल्ला/नगर तर्फबाट उपाध्यक्ष दुई जना, खुला सदस्य १५ जना, महिला सदस्य दुई जना र प्रत्येक प्रदेशबाट दुई/दुई जना गरी १४ जना केन्द्रीय कार्यकारिणी सदस्य पदका मतदान हुँदैछ ।

निर्वाचन समितिका अनुसार सातमध्ये कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा निर्विरोध निर्वाचित भइसकेका छन् ।

वस्तुगत तर्फबाट उपाध्यक्ष एक जना, कार्यकारिणी सदस्य १३ जना, महिला सदस्य एक जना, वस्तुगत महासङ्घबाट कार्यकारिणी सदस्य दुई जनाका लागि मतदान हुने छ । यस्तै एसोसिएट्स तर्फ उपाध्यक्ष एक जना, केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, महिला सदस्य दुई जनाका लागि निर्वाचन गरिने छ ।

द्विराष्ट्रिय उद्योग वाणिज्य वाणिज्य महासंघका तर्फबाट एक जना कार्यकारिणी सदस्य पदका लागि निर्वाचन हुने भएको छ । यस्तै, महासंघको संस्थापक सदस्य समूहबाट कार्यकारिणी सदस्य पदमा दुई जना निर्वाचित हुने छन् ।