काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिको कार्यसम्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने प्रक्रिया अघि बढाएको छ ।
समितिका सभापति रहबर अन्सारीले मंगलबार बसेको समितिको बैठकमा समितिको सहज सञ्चालन र बैठक व्यवस्थापनका लागि सात सदस्यीय उपसमिति गठन गरिने जानकारी दिए ।
समितिको बैठकमा सभापति अन्सारीले सबै राजनीतिक दलको प्रतिनिधित्व हुनेगरी गठन गरिने उक्त उपसमितिले बैठकका एजेण्डाहरू तय गर्ने र प्रश्तावहरूमाथि प्रारम्भिक छलफल गरी समितिको कामलाई सहजीकरण गर्ने बताए ।
उनकाअनुसार आगामी बैठकमा दलहरूबाट प्राप्त नामका आधारमा उपसमितिको औपचारिक घोषणा गरिनेछ ।
यसैगरी, समितिले उद्योग, वाणिज्य, आपूर्ति, श्रम र उपभोक्ता हितसँग सम्बन्धित विषयहरूलाई समेटेर करिव ४० वटा बुँदा सम्मिलित ‘टपिक बैंक’ (विषयगत सूची) तयार पारेको छ ।
उक्त सूचीमा रहेका विषयहरूका अतिरिक्त अन्य छुट्न गएका महत्वपूर्ण विषयहरू भए सुझाव दिन सभापति अन्सारीले समिति सदस्यहरूलाई आग्रह गर्नुभयो । प्राप्त सुझावहरूलाई समेटेर सचिवालयले उक्त विषयगत सूचीलाई अन्तिम रूप दिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्