काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले अन्तर्देशीय शिक्षाको अभ्यासले नेपाली विद्यार्थीहरूको प्रगतिमा उल्लेख्य योगदान पुर्याएको बताएका छन् ।
राजधानीको गेट पोलिटेक्निक प्रतिष्ठान र अस्ट्रेलियाको ‘टेफ न्यु साउथ वेल्स’ ( एनएडडब्लू टेफ) को सहकार्यमा सञ्चालित व्यावसायिक कुकरी तालिमको नवौँ ब्याचको दीक्षान्त समारोहमा राजदूत अर्न्स्टले अस्ट्रेलियामा हजारौँ नेपाली विद्यार्थी अध्ययनरत रहेको स्मरण गर्दै नेपालभित्रै पनि अन्तर्राष्ट्रिय स्तरको अस्ट्रेलियन शिक्षा उपलब्ध हुनु खुसीको कुरा भएको उल्लेख गरे।
“अस्ट्रेलियन शिक्षा योग्यताका साथै गुणस्तरको मापनका लागि समेत प्रत्याभूति हुने भएकाले यो विश्वभर प्रख्यात छ,” राजदूत अर्न्स्टले भने ।
गेट पोलिटेक्निक तथा गेट कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत खेम लकाइँले कलेजले स्थापनाकालदेखि नै प्राविधिक तथा व्यावसायिक शिक्षामा योगदान दिँदै आएको बताए। लकाइँका अनुसार अस्ट्रेलियाको विश्वप्रसिद्ध ‘टेफ’ सँगको सहकार्यमा विगत ९ वर्षदेखि नेपालमै अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गरिँदै आएको छ।
यो प्रशिक्षण अस्ट्रेलियन सरकारको उच्च शिक्षा मापन गर्ने सबै मापदण्ड र स्तर पूरा गरी सञ्चालन भइरहेको लकाइँले स्पष्ट पारे ।
सोल्टी गेट एकेडेमीका सल्लाहकार समितिका अध्यक्ष डा. गणेश गुरुङले नेपालको वर्तमान शैक्षिक संरचनाले सीपयुक्त जनशक्तिभन्दा पनि प्रमाणपत्र मात्र बोकेका कमजोर जनशक्ति उत्पादन गरिरहेको भन्दै प्रणालीगत सुधारको आवश्यकतामा जोड दिए ।

त्यसैगरी, होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपालको पर्यटन तथा आतिथ्य सत्कार क्षेत्र विस्तार भइरहेकाले सीपयुक्त जनशक्तिको माग बढ्दै गएको बताए। “नेपालमा मात्र नभई विश्वभर नै आतिथ्य सत्कारको क्षेत्रमा पर्याप्त अवसरहरू सिर्जना भइरहेका छन्, यस्तोमा सीपमूलक जनशक्तिको खाँचो अझ बढेर जानेछ,” शाहले भने।
समारोहमा नेपालका प्रतिष्ठित सेफ गोविन्द नरसिंह केसी र ‘भ्वाइस अफ सेफ’ का संस्थापक विक्रम गिरी लगायतले पर्यटन उद्योगमा सेफहरूको अभाव पूर्ति गर्न प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी बढाउनुपर्ने धारणा राखे ।
दीक्षान्त समारोहमा एक वर्षे कमर्सियल कुकरी थ्रीको प्रशिक्षण पूरा गरेका विद्यार्थीहरूलाई राजदूत अर्न्स्टले दीक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए। दीक्षान्त समारोहमा ‘टेफ–नवौँ ब्याच’ का कुल १९ जना विद्यार्थीहरू दीक्षित भएका छन्। जसमा १३ जना छात्र र ६ जना छात्रा रहेका छन्।
प्रशिक्षणले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको सीप सिकेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको गेट पोलिटेक्निकले उल्लेख गरको छ।



प्रतिक्रिया दिनुहोस्