काठमाडौँ। एसिया तथा प्रशान्त क्षेत्रमा बढ्दो जलवायु परिवर्तन र शृंखलाबद्ध विपद्को जोखिमलाई सम्बोधन गर्न आगामी कात्तिक १३ गते थाइल्यान्डको बैङ्ककमा एक उच्चस्तरीय क्षेत्रीय संवाद कार्यक्रम आयोजना हुने भएको छ।
दिगो विकासका लागि अन्तरिक्ष प्रविधि प्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको अवसरमा आयोजना हुन लागेको यस क्षेत्रीय मञ्चमा गत २०८३ भदौ १० मा नेपालमा गएको विनाशकारी भोटेकोशी-त्रिशूली जलप्रलय(गाङ्बाल)को अध्ययन र त्यसबाट प्राप्त पाठहरूबारे मुख्य रूपमा छलफल गरिने युनस्क्यापले बताएको छ।
उच्च हिमाली क्षेत्रमा चट्टान र हिउँको ठूलो पहिरोका कारण सुरु भएको गाङ्बालले जनधनको व्यापक क्षति गर्नुका साथै यातायात, जलविद्युत्, सीमावर्ती पूर्वाधार र स्थानीय जीविकोपार्जनमा गम्भीर असर पुर्याएको थियो। तीव्र रूपमा परिवर्तन भइरहेको हिमाली क्षेत्रमा हिउँ र बरफको अनुपात, बढ्दो तापमान, हिमनदी पग्लिने क्रम र पर्माफ्रोस्टको क्षयले गर्दा हिमपहिरो, लेदो बहाव र आकस्मिक बाढीजस्ता शृंखलाबद्ध जोखिमहरू सीमापार र तल्लो तटीय क्षेत्रसम्म फैलिने खतरा बढेको विज्ञहरूले औँल्याएका छन्।
संयुक्त राष्ट्र सङ्घको महासभाको ८१औँ सत्रमा सञ्चालित “सगरमाथादेखि समुद्रसम्म: जलवायु-उत्थानशील भविष्यका लागि आह्वान” नामक उच्चस्तरीय बैठकको निरन्तरताका रूपमा यो कार्यक्रम हुन लागेको हो।
नेपालको अनुभवमा आधारित भए पनि यस छलफलले सम्पूर्ण हिन्दूकुश हिमालय (HKH) क्षेत्रका तल्ला तटीय समुदायहरूका साथै एसिया र प्रशान्त क्षेत्रका जोखिमयुक्त देशहरूका लागि उपयोगी रणनीति निर्माण गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको युनस्क्यापले बताएको छ।
यस क्षेत्रीय संवादमा जलवायु, भू-भौतिक, भू-स्थानिक र विपद्सम्बन्धी तथ्याङ्कको एकीकृत विश्लेषणमार्फत जोखिम कसरी सीमापार र विभिन्न क्षेत्रहरूमा फैलिन्छ भन्ने वैज्ञानिक बुझाइलाई सुदृढ गरिने, छुट्टाछुट्टै जोखिमका आधारमा नभई जल, ऊर्जा, पूर्वाधार, खाद्य प्रणाली र जीविकोपार्जनलाई एकसाथ संरक्षण गर्ने गरी एकीकृत विकास र लगानी योजना तयार गरिने युनस्क्यापले जानकारी दिएको छ।
यस्तै, सीमापार जोखिमको व्यवस्थापनका लागि तथ्याङ्क आदानप्रदान, बहु-जोखिम पूर्वसूचना प्रणाली र वैज्ञानिक सहकार्यलाई अभिवृद्धि गरिनेछ।
सगरमाथादेखि समुद्रसम्म: भोटेकोशी-त्रिशूली जलप्रलयबारे बैङ्ककमा क्षेत्रीय संवाद हुने


प्रतिक्रिया दिनुहोस्