काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानको समृद्ध युरेनियम आफ्नो देशमा सारेर भण्डारण गर्न तयार रहेको बताएका छन् ।
मास्कोमा आयोजित पत्रकार सम्मेलनमा पुटिनले सन् २०१५ मा रुसले इरानबाट समृद्ध युरेनियम स्थानान्तरण गरिसकेको स्मरण गराउँदै उक्त प्रक्रिया पुनः दोहोर्याउन सकिने बताएका हुन् ।
“हामीसँग यसअघि पनि यस्तो अनुभव छ र आवश्यक परे फेरि पनि त्यस्तै गर्न तयार छौं,” राष्ट्रपति पुटिनले भने ।
उनका अनुसार यस विषयमा संलग्न सबै पक्षहरू सुरुआतमा इरानबाट युरेनियम बाहिर पठाउन सहमत भएका थिए ।
पछि अमेरिकाले आफ्नो अडान परिवर्तन गर्दै उक्त पदार्थ केवल आफ्नो भूभागमै लैजानुपर्ने माग गरेपछि इरानले पनि कडा प्रतिक्रिया दिएको पुटिनको भनाई थियो ।
रुसले वासिङ्टन र तेहरान दुवैसँग निरन्तर संवाद कायम राख्ने उल्लेख गर्दै पुटिनले जारी तनाव यथाशीघ्र अन्त्य हुने अपेक्षा व्यक्त गरे ।
प्रस्तावबारे इरानतर्फबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन । अमेरिका र इरान अहिले युद्धमा छन् ।
युद्धविराम जारी रहे पनि तनाव कायमै छ । युद्ध अन्त्यका लागि पाकिस्तानमा एकचरणको वर्ता भए पनि दोस्रो चरणको वार्ता हुन सकेको छैन । दुबै पक्षले अनौपचारिक रूपमा सहमतिका लागि विषयहरू आदानप्रदान गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्