काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको कार्यशैली र संसद बैठकमा निरन्तर अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका छन्।
प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने विषयमा अन्य प्रतिनिधि पठाउने गरिएको भन्दै उनले विरोध जनाएका हुन्। सञ्चारकर्मीसँग कुरा गर्दै राईले मुलुकमा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र सक्रियता नदेखिएको टिप्पणी गरे।
उनले सत्तापक्षले संसदीय प्रक्रियामा एकलौटी ढंगले काम गरिरहेको आरोप पनि लगाए। नीति तथा कार्यक्रम र बजेटजस्ता महत्वपूर्ण विषयमा पर्याप्त छलफलको समय नदिइएको तथा अध्ययनका लागि अत्यन्त कम समय उपलब्ध गराइएको उनको भनाइ छ।
“आज ठेलीका ठेली कागजात दिने र भोलिपल्टै पढेर आउनु भन्ने शैली उचित होइन,” उनले भने, “नीति तथा कार्यक्रम र बजेटजस्ता गम्भीर विषयमा पनि पर्याप्त समय दिइएको छैन।”
राईले आफ्नो दल बैठकबाट बाहिरिएको जानकारी दिँदै अन्य दलहरूले पनि विरोध जनाइरहेको बताए। प्रतिपक्षी आवाजलाई दबाउन खोजिएको संकेत गर्दै उनले प्रतिपक्षलाई बेवास्ता गरेर संसद सञ्चालन गर्न नसकिने चेतावनी दिए।
सरकारको कार्यशैलीबारे अन्तिम मूल्यांकन जनताले नै गर्ने उनले उल्लेख गरे।
– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस्