काठमाडौँ । सीजी मोटोकर्पले सुजुकी इ-भिटाराको देशव्यापी हस्तान्तरण सुरु गरेको छ । यो गाडी नेपाली बजारमा सुजुकीले ल्याएको पहिलो पूर्ण निर्मित विद्युतीय एसयूभी हो । साथै, यस मूल्य खण्डमा जापानी कम्पनीबाट आएको पहिलो विद्युतीय एसयूभीसमेत भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सुजुकीको अधिकृत डिलर सञ्जालमार्फत देशभर ग्राहकलाई गाडी हस्तान्तरण भइरहेको छ । विद्युतीय गाडीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सुजुकीले नेपाली बजारमा औपचारिक रूपमा विद्युतीय गाडीको यात्रा सुरु गरेको हो ।
सीजी मोटोकर्पले इ-भिटाराको सुरूवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य पहिलो १०० बुकिङका लागि मात्रै लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रवक्ताले इ-भिटाराले सुजुकीप्रतिको ग्राहक विश्वासलाई थप बलियो बनाउने बताएका छन् । उनका अनुसार प्रमाणित इन्जिनियरिङ, देशभर फैलिएको सेवा सञ्जाल र सहज रूपमा उपलब्ध हुने स्पेयर पार्ट्स यस गाडीका मुख्य विशेषता हुन् ।
सीजी मोटोकर्पले सन् २०३० सम्म सुजुकीका थप ६ वटा विद्युतीय गाडी नेपाली बजारमा ल्याउने योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले इ-भिटारालाई आफ्नो दीर्घकालीन विद्युतीय योजना अन्तर्गतको पहिलो कदमका रूपमा प्रस्तुत गरेको छ ।
कम्पनीका अनुसार इ-भिटारा नेपालभर रहेका २५ बिक्री केन्द्र र ४० सेवा केन्द्रमार्फत सेवा उपलब्ध हुने गरी सञ्चालनमा ल्याइएको हो । विद्युतीय गाडीका लागि आवश्यक विशेष सेवा प्रणाली, तालिमप्राप्त प्राविधिक जनशक्ति र स्पेयर पार्ट्स आपूर्ति व्यवस्था पनि तयार गरिएको कम्पनीले जनाएको छ ।
यो गाडी ४९ किलोवाट-घण्टा र ६१ किलोवाट-घण्टा ब्याट्री विकल्पमा उपलब्ध छ । ६१ किलोवाट-घण्टा संस्करणले एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ ।
गाडीमा नयाँ हर्टेक्ट–इ विद्युतीय प्लेटफर्म, ३-इन-१ विद्युतीय पावरट्रेन, लिथियम-आयन ब्याट्री तथा विभिन्न तापक्रममा सञ्चालन गर्न सकिने प्रविधि समावेश गरिएको छ । यसमा इको, नर्मल, स्पोर्ट र स्नो गरी चार ड्राइभिङ मोड उपलब्ध छन् ।
सुरक्षातर्फ इ-भिटारामा लेभल–२ एडास, ७ वटा एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर निगरानी प्रणाली र इ–कल सुविधा उपलब्ध छन् ।
सीजी मोटोकर्प चौधरी ग्रुपअन्तर्गतको स्वचालित क्षेत्रको कम्पनी हो । यसले नेपालमा सुजुकी प्यासेन्जर गाडीको आधिकारिक प्रतिनिधित्व गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्