सरकारले सबै क्षेत्रमा द्वन्द्व निम्त्याइरहेको एमालेको आरोप


काठमाडौं । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले वर्तमान सरकार सबै क्षेत्रमा द्वन्द्व सिर्जना गर्ने दिशामा अघि बढिरहेको आरोप लगाएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै एमाले सांसद डा. पुष्पराज कँडेलले सरकारले समन्वय र सहकार्यभन्दा द्वन्द्व बढाउने काम गरिरहेको टिप्पणी गरे।

उनले मुलुकको अर्थतन्त्र सुधारका लागि राजनीतिक दल, निजी क्षेत्र, छिमेकी मुलुक तथा मित्र राष्ट्रहरूसँग सहकार्य गर्ने विषय बजेटको सिद्धान्त र प्राथमिकतामा समेटिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सांसद कँडेलले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण कमजोर बनेको दाबी गर्दै उद्योगी व्यवसायीहरू आतंकित भएको बताए। उनकाअनुसार सेयर बजार अन्योलमा रहेको, बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको, बजारमा मूल्यवृद्धि बढेको तथा उपभोक्ताहरू समस्यामा परेको अवस्था छ।

सरकारले मुलुकको अर्थतन्त्र मन्दीमा रहेको यथार्थसमेत स्वीकार गर्न नसकेको आरोप लगाउँदै सांसद कँडेलले भने, “राज्यका विभिन्न अंग, सरकारका विभिन्न तह, राजनीतिक दल, निजी क्षेत्र तथा छिमेकी र मित्र राष्ट्रबीच समन्वय र सहकार्यको कुरा दस्तावेजमा देखिँदैन। हरेक क्षेत्रमा द्वन्द्व सिर्जना गरेर स्थिरता र आर्थिक लक्ष्य हासिल गर्न सकिँदैन।”

उहाँले वर्तमान सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्ने स्पष्ट नीति अवलम्बन गर्न नसकेको समेत दाबी गरे।