काठमाडाैँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी बजेटमा सडक पूर्वाधार, सुरक्षा र यातायात सुधार, नयाँ शहरी विकासलाई प्राथमिकतामा राखिने बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमा सडक पूर्वाधारदेखि सुरक्षा र यातायात सुधारलाई प्राथमिकतामा राखेर बजेट बनाइरहेको जानकारी दिए ।
उनकाअनुसार राष्ट्रिय राजमार्गहरूमा सुरक्षित यातायात सुनिश्चित गर्न सडक सुरक्षा तथा पहिरो नियन्त्रण कार्यक्रम, दुर्घटनाको उच्च जोखिम रहेका साना एकल तथा मध्य लेनका सडकहरूलाई डबल लेनमा स्तरोन्नति गर्ने योजनालाई समेत बजेटमा समावेश गरिँदैछ ।
सडक मर्मतसम्भारका लागि आवश्यक बजेट विनियोजन गरिनेछ छ भने राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्ने लक्ष्य राखिदैछ । सडक विभागमार्फत राष्ट्रिय राजमार्ग तथा पुल निर्माणलाई प्राथमिकता दिने तयारी भइरहेको छ भने स्थानीय पुलहरू स्थानीय पूर्वाधार विकास विभागमार्फत निर्माण गर्ने व्यवस्था प्रस्ताव गरिएको सिग्देलले जानकारी दिए ।
आगामी बजेटमा कर्णाली प्रदेशका सिंगल लेन सडकहरूलाई स्तरोन्नति गर्ने आवश्यकता औँल्याउँदै यातायात सञ्जाल सुधारलाई विशेष प्राथमिकतामा राखिने जानकारी दिँदै उनले वर्षा र बाढी–पहिरोका कारण क्षति भएका सडकहरूको मर्मतलाई पनि प्राथमिकतामा राखिएको बताए ।
कर्णाली राजमार्ग स्तरोन्नतिलाई छुट्टै शीर्षकमा समावेश गरिँदैछ भने हिमाली तथा पर्यटकीय क्षेत्रहरूलाई जोड्ने सडक सञ्जाल विस्तार गर्ने योजना पनि बजेटमा समावेश गरिएको उनले बताए । सिग्देलकाअनुसार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा राष्ट्रिय राजमार्गसँग जोडिएको एक सडक छनोट गरी विकास गर्ने प्रश्ताव गरिएको छ । औद्योगिक पहुँच मार्गलाई पनि प्राथमिकतामा राखिएको छ, जसले निजी क्षेत्रको लगानी आकर्षित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ–तराई मधेस फास्ट ट्र्याकका लागि करिब २४ अर्ब रुपैयाँ विनियोजन प्रश्ताव गरिएको, सडक विभाग अन्तर्गत करिव १३४ अर्ब रुपैयाँ बजेट आवश्यक देखिएको सिग्देलले बताए ।
रेल आयोजनाका लागि ५०० करोड, यातायात व्यवस्थापनका लागि ११२ करोड र सडक बोर्डमार्फत १५ हजार किलोमिटर सडक मर्मतका लागि १५ अर्ब रूपैयाँ प्रश्ताव गरिएको उनले बताए । समग्रमा सडक तथा यातायात पूर्वाधारका लागि करिव १८० अर्ब रुपैयाँ बजेट आगामी वर्ष आवश्यक पर्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्