चुरे विनाश र बजेट कार्यान्वयनको फितलो अवस्थाप्रति महन्थ ठाकुरको चिन्ता


काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसमा भइरहेको चुरे दोहन र बजेट कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन् । 

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोमबार आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले विकासका कुरा भएपनि व्यवहारमा भने प्रतिकूल अवस्था सिर्जना भइरहेको टिप्पणी गरे ।

अध्यक्ष ठाकुरले चुरे र भावर क्षेत्रको अनियन्त्रित दोहनका कारण मधेसमा ठूलो संकट उत्पन्न भएको बताए । प्राकृतिक स्रोतको अत्यधिक दोहनले वर्षायाममा उत्तरतर्फ कटान र दक्षिणतर्फ डुबानको भयावह समस्या निम्त्याएको उनको भनाइ थियो।

महिनौँसम्म बस्तीहरू डुबानमा पर्दा पनि राज्यका निकायहरूबाट उचित ध्यान नपुगेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । सो क्रममा उनले वातावरणीय चेतनाको अभाव र भौतिक विनाशका कारण विगतमा स्थापित विद्यालयहरू समेत बन्द हुने अवस्थामा पुगेको बताए । बजेट विनियोजन र त्यसको खर्च हुने प्रक्रिया पारदर्शी नभएको भन्दै अध्यक्ष ठाकुरले आलोचना गरे । 

उनले भने, “हामी चुरे विनाशको कुरा गरिरहेका छौँ, तर त्यहाँबाट ढुङ्गा, माटो र बालुवा निकाल्ने क्रम रोकिएको छैन । भावर क्षेत्रको स्थिति पनि उस्तै छ । बजेट जान्छ तर त्यसको प्रतिफल देखिँदैन । आधा बजेट कता हराउँछ, पत्तो हुँदैन । जसरी हामी पृथ्वी घुमिरहेको देख्दैनौँ, त्यसैगरी बजेट पनि शुन्यमा हराइरहेको छ ।”

विगतका वर्षहरूमा बजेट विनियोजन भएपनि त्यसले लक्षित वर्ग र क्षेत्रलाई छुन नसकेको उल्लेख गर्दै उGले यसपटकको बजेट बालुवामा पानी हाले जस्तै शुन्यमा नजाओस् भन्ने कामना गरे ।

विकास निर्माणका योजनाहरू कागजमा मात्र सीमित नभई जनताले महशुस गर्नेगरी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । समितिको बैठकमा अध्यक्ष ठाकुरले सरकारलाई मधेशको संवेदनशीलता बुझ्न र विकासका योजनाहरूलाई परिणाममुखी बनाउन ध्यानाकर्षण गराए ।