काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा गृह प्रदेश गण्डकीको अध्यक्ष गुमाएका अञ्जन श्रेष्ठले लुम्बिनी प्रदेशलाई नजिक राख्ने सङ्केत गरेका छन् ।
अध्यक्ष श्रेष्ठको प्यानलबाट जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा विजयी भएका थिए । दुई उपाध्यक्षमध्ये शर्मालाई अध्यक्ष श्रेष्ठले नजिक राख्न खोजेको महासङ्घको नयाँ कार्यसमिति भित्र चर्चा चलेको छ ।
अध्यक्ष श्रेष्ठले पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकबाटै शर्मालाई नियमावली संसोधनको संयोजक बनाएर त्यसको सङ्केत गरेका हुन् ।
अञ्जनले गृहप्रदेश गण्डकीमा आफ्नो पक्षको अध्यक्ष चयन गर्न सकेनन् । केन्द्रमा पनि सबै पदाधिकारीले जित्दासमेत सबैभन्दा सक्रिय वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरे पराजित भएका थिए ।
क्षेत्रगत हिसाबले बागमती ठुलो र शक्तिशाली क्षेत्र मानिन्छ तर अध्यक्ष श्रेष्ठले भने बागमतीका दिलसुन्दर भन्दा लुम्बिनीका कृष्णप्रसाद रोजेका छन् । नियमावली संसोधन प्रक्रियासमेत विवादमा छ ।
नियमावलीलाई सहज ढङ्गले पार लगाउन नजिक र विश्वासीय व्यक्ति आवश्यक पर्छ । यसका लागि अध्यक्ष श्रेष्ठले श्रेष्ठले शर्मालाई जिम्मा दिएका हुन् ।
शर्माले अध्यक्ष श्रेष्ठको विश्वासअनुसार विधानको व्याख्या र नियमावली संसोधनको मस्यौदा तयार गरेर बुझाउनुपर्ने छ ।
मस्यौदा समितिमा अन्य चारजना केन्द्रीय कार्यकारिणी समिति सदस्य छन् ।
अञ्जन निकटहरू भने यसलाई गलत ढङ्गले बुझ्न नहुने तर्क गर्छन् । अञ्जन प्यानलबाट जितेका एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले भने, “नियमावली संसोधनको विषयमा जिम्मेवारी दिनुभएको हो । यसलाई काखपाख त भन्न मिलेन । विश्वासको कुरा भने पक्कै देखिन्छ ।”
बागमती प्रदेशका जिल्लानगरबाट आएका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले भने यसलाई सहज लिएका छैनन् । एक केन्द्रीय कार्यकारिणी सदस्यले भने, “यो अहिले नै ठुलो विषय त होइन तर केही सङ्केत भने हो ।”



प्रतिक्रिया दिनुहोस्