प्राथमिक बजारमा ११७ प्रतिशतले बढ्यो पुँजी परिचालन


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म नेपालको प्राथमिक धितोपत्र बजारमार्फत पुँजी परिचालन उल्लेख्य रूपमा बढेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार यस अवधिमा ५४ अर्ब १६ करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि स्वीकृति दिइएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको फागुनसम्म यस्तो पुँजी परिचालन २४ अर्ब ९२ करोड रुपैयाँमा सीमित थियो ।

म्युचुअल फन्ड र अग्राधिकार सेयरबाट ठुलो पुँजी

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म साधारण सेयर (आइपिओ) मार्फत ८ अर्ब ६९ करोड रुपैयाँ, हकप्रद सेयरबाट ४ अर्ब ९४ करोड रुपैयाँ तथा थप सार्वजनिक निष्काशन (एफपीओ) बाट ४ करोड ६६ लाख रुपैयाँ परिचालन भएको छ ।

त्यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार सेयरमार्फत १६ अर्ब ८५ करोड रुपैयाँ तथा म्युचुअल फन्डमार्फत सबैभन्दा धेरै २३ अर्ब १२ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । ऋणपत्रमार्फत ५० करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।

नेपालको धितोपत्र बजारमार्फत उद्यमशीलता तथा नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा आएका वैकल्पिक लगानी कोष (अल्टरनेटिभ इन्भेष्टमेन्ट फन्ड) तर्फ पनि आकर्षण बढेको देखिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट हालसम्म १९ संस्थाले कोष व्यवस्थापन अनुमति प्राप्त गरेका छन् । स्वीकृत कोष व्यवस्थापकहरूले विभिन्न योजनामार्फत हालसम्म ४१ अर्ब ७५ करोड रुपैयाँ बराबरको पुँजी परिचालन गरिसकेका छन् ।

चालु आर्थिक वर्षको फागुनसम्म मात्रै ४ अर्ब ७५ करोड रुपैयाँ बराबरका नयाँ योजना थपिएका छन् । यस्तो पुँजी परिचालन गत आर्थिक वर्षको तुलनामा ९० प्रतिशतले वृद्धि भएको आर्थिक सर्वेक्षणले देखाएको छ ।

मिश्रित ऋणपत्र बजार

सरकारी ऋणपत्र कारोबार भने घट्दो देखिएको छ । फागुनसम्म सूचीकृत सरकारी ऋणपत्रको कारोबार ५९ प्रतिशतले घटेर २४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिमा यस्तो कारोबार ५९ करोड १० लाख रुपैयाँ थियो । तर संस्थागत ऋणपत्र कारोबार भने ३९.८ प्रतिशतले बढेर ३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

ओटीसी बजारको कारोबार ३ अर्ब माथि

नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीहरूको कारोबार हुने ओटीसी बजारमा पनि सक्रियता बढेको छ । चालु आर्थिक वर्षको फागुनसम्म ओटीसी बजारमा ३ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्ष यस्तो कारोबार १ अर्ब ७९ करोड रुपैयाँ थियो ।

३१ लाख नाघे अनलाइन कारोबारकर्ता

धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता पनि बढ्दो क्रममा छ । फागुनसम्म डिम्याट खाताको संख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन नेपालको कुल जनसंख्याको करिब २६.२ प्रतिशत हो ।

त्यस्तै मेरोसेयर खाताको संख्या ६६ लाख १३ हजार पुगेको छ । यो कुल जनसंख्याको करिब २२.७ प्रतिशत बराबर हो ।

दोस्रो बजारमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि तीव्र रूपमा बढेको छ । फागुनसम्म अनलाइन कारोबारका लागि ‘लग–इन’ लिने लगानीकर्ताको संख्या ३१ लाख ८२ हजार ४६२ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या २५ लाख ४९ हजार ६९६ थियो ।

त्यस्तै सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) मा अभौतिकृत धितोपत्रको सङ्ख्या २३.६ प्रतिशतले बढेर १५ अर्ब ९० करोड ५५ लाख पुगेको छ । हालसम्म २७३ कम्पनीले धितोपत्र अभौतिकरण गरिसकेका छन् भने निक्षेप सदस्यको संख्या १२२ पुगेको छ ।