नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइयोः प्रधानमन्त्री साह


काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको बताएका छन् । आइतबार सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले यसबारेमा आफूले पनि प्रधानमन्त्री बनेपछि मात्रै जानकारी पाएको र यसबारे नेपाल र भारतबिच वार्तामार्फत समस्या समाधान गरिने बताए ।

प्रधानमन्त्री भएपछि सीमासम्बन्धी विषयमा नयाँ तथ्यहरू फेला परेको उल्लेख गर्दै उहाँले दुवै पक्षबाट सीमा अतिक्रमण भएको पाइएको जानकारी दिए । 

उनले भने, “भारतले नेपालको जग्गा मात्र नभई, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको तथ्य प्रधानमन्त्री भएपछि जानकारीमा आएको छ ।”

प्रधानमन्त्री साहले सीमाको यथार्थ अवस्था पत्ता लगाउन दुवै देशले संयुक्त अध्ययन गर्नुपर्नेमा जोड दिए । सीमा क्षेत्रमा देखिएका समस्यालाई एक मित्र राष्ट्रको हैसियतमा बसेर छलफलमार्फत टुङ्ग्याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।

कुन पक्षबाट कति जग्गा मिचिएको छ भन्ने विषयमा विस्तृत अध्ययन गरी मैत्रीपूर्ण ढङ्गले समस्या समाधान गर्न आफूहरू प्रतिवद्ध रहेको उनले स्पष्ट पारे ।