काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा विगत १० वर्षकै सानो र सन्तुलित रहेको दाबी गरेका छन् ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफलमा अर्थमन्त्री वाग्लेले बजेटको आकारलाई लिएर भइरहेका भ्रमहरू चिर्नुपर्नेमा जोड दिए ।
अर्थमन्त्री डा. वाग्लेले समय र स्रोतको चरम दबाबका बीच बजेट निर्माण गरिएको स्पष्ट पारे । आगामी पाँच वर्षको कार्ययोजनासहित जग बसाल्ने गरी यस वर्षको बजेट ल्याइएको र अर्को वर्ष थप परिष्कृत योजनाहरू आउने उनले विश्वास व्यक्त गरे ।
बजेट महत्वाकांक्षी भएको आलोचनालाई अस्वीकार गरे । उनले ६५० अर्ब ऋणको चर्चा भएपनि त्यसको आधाभन्दा बढी हिस्सा पुरानो ऋणको साँवा–ब्याज भुक्तानीमा जाने हुँदा खुद ऋणको भार न्युन रहने विश्लेषण गरे ।
सरकारले आगामी वर्ष १५८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको जानकारी दिँदै उनले आन्तरिक स्रोत परिचालनमा सरकार दृढ रहेको बताए। वैदेशिक ऋणको उपयोग क्षमतामा सुधार ल्याएर ऋण–जीडीपी अनुपातलाई सन्तुलनमा राखिने उनको भनाइ थियो ।
विगत २० वर्षमा निर्मित पूर्वाधारलाई आर्थिक वृद्धिसँग जोड्न सातै प्रदेशमा ‘ग्रोथ क्वाड्र्याङ्गल’ (आर्थिक वृद्धि चतुर्भुज) को अवधारणा अघि सारिएको अर्थमन्त्रीले उल्लेख गरे । उनकाअनुसार मुग्लिन–पोखरा, सिद्धार्थ राजमार्ग र हुलाकी राजमार्ग जस्ता महत्वपूर्ण सडक खण्डलाई विस्तार गरी आर्थिक गतिविधि बढाइनेछ । प्रविधिको क्षेत्रमा बजेटले नवीन फड्को मारेको दाबी समेत गरे ।
बजारमा देखिएको शिथिलता र न्युन मागलाई सम्बोधन गर्न आयकरमा छुट र कर प्रोत्साहनका सुविधाहरू ल्याइएको उजले बताए । निजी क्षेत्रलाई ‘क्राउड इन’ गर्न र लगानीको वातावरण बनाउन सरकारले साना तर प्रभावकारी कदमहरू चालेको उनको भनाइ छ ।
अर्थमन्त्री डा. वाग्लेले सरकारको प्राथमिकता पुराना अधुरा आयोजनाहरू सम्पन्न गर्ने र नयाँ प्रविधिमैत्री अर्थतन्त्रको जग बसाल्ने रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्