बजेटले लिएका नीति कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछः प्रवक्ता पौडेल


काठमाडाैँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र ६ प्रतिशतभित्र मुद्रास्फिती राख्ने गरी राष्ट्र बैंकले नीतिहरू तर्जुमा गर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको कार्यक्रममा  उनले अहिलेको असाधारण परिस्थितिलाई सम्बोधन गर्नका लागि महत्वकांक्षी बजेट ल्याउन सरकारलाई दबाब र आवश्यकता रहेको बताए ।

उनले बजेटमा सुशासनलाई, डिजिटाइजेसनलाई र विद्युतीकरणलाई प्राथमिकता दिएर प्रशासन क्षेत्रलाई अगाडि बढाउन खोजिएकाले आर्थिक वृद्धिको सिनर्जी आउन सक्ने बताए । उनले केही कुरालाई राष्ट्र बैंकले विगतदेखि चालेका कदमलाई अझ बढी प्रभावकारी तरिकाले अगाडि बढाउनलाई बजेटले राष्ट्र बैंकलाई निर्देशन गरेको उल्लेख गरे ।

उनकाअनुसार फिनटेक मार्केटप्लेसको अवधारणालाई पनि बजेटले सम्बोधन गरेको छ ।  यसमा राष्ट्र बैंकले पनि काम गरिरहेको भन्दै उनले बजेटमा नै यो विषय आउँदा झनै छिटो काम हुने विश्वास व्यक्त गरे । 

पौडेलले उपभोगमा वृद्धि ल्याउनका लागि हायर पर्चेजमा विभिन्न उपभोग्य सामान खरिदमा ऋण लिन मिल्ने व्यवस्था बजेटले गर्न खोजेको उल्लेख गरे ।