काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका ७ स्थित जिरो माइल फलफूल बजार खाली गराउने क्रममा व्यवसायीहरूले असन्तुष्टी जनाएका छन् । उच्च अदालत जनकपुरले जिरो माइलमा रहेको फलफुल बजार खाली गराउने आदेश दिएपछि उपमहानगरपालिकाले फलफूल बजार खाली गराएको हो ।
जनकपुरको आदेशलाई सम्मान आफूहरु बजार खाली गर्न तयार रहेपनि समय नदिएको व्यवसायीहरुको गुनासो छ । व्यवसायीहरुले हाल आँपको मुख्य व्यापारिक सिजन रहेकोले बजार खाली गराउन तीन महिनाको समय माग गरेपनि सुनुवाई नभएको बताएका छन् ।
जनकपुरधाम फलफूल व्यवसायी महासंघका महासचिव भूवनेश्वर पूर्वेले व्यवसायीहरू बजार स्थानान्तरणका लागि तयार रहेपनि वैकल्पिक व्यवस्थापन नहुँदै बल प्रयोगको शैलीमा संरचना हटाउने काम गरिएको बताए ।
अदालतको आदेश कार्यान्वयनमा आफूहरूको कुनै असहमति नरहेको उल्लेख गर्दै उनले सूचना नै नदिई बजारको संरचनामा डोजर चलाएर व्यवसायीमाथि अन्याय गरेको बताए। केही समय बजारको संरचना हटाउन माग राखिएको भएपनि सम्बन्धित निकायले त्यसतर्फ चासो नदिएको उनको आरोप छ ।
उनले भने,‘फलफूल बजार हटाउनको लागि नगरपालिकाले आजसम्म हामीलाई जानकारी गराएको छैन । उच्च अदालत जनकपुरको परमादेश आउनेवित्तिकै आफ्नो मन बुताविक डोजर ल्याएर फलफुल बजार भत्काइएको छ ।’
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले वैकल्पिक व्यवस्थाविना नै व्यवसायीहरुलाई हटाईएको बताए। राज्यलाई करोडौं रुपैयाँ राजश्व बुझाउँदै आएका व्यवसायीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु उचित नहुने उनको भनाई छ ।
व्यवसायीहरूका लागि नयाँ स्थान व्यवस्थापन गर्न उपमहानगरपालिकासँग समन्वय भइरहेको जानकारी दिँदै जग्गा व्यवस्थापन तथा करार प्रक्रियाका केही काम बाँकी रहेको बताए । उनले वैकल्पिक व्यवस्था नहुँदासम्म फलफूल बजार नहटाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्