काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलका डीआईजी अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ।
मंगलबार सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का विभिन्न चार निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्ले युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम (यूएनईपी) अन्तर्गत ओजन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयनका लागि सम्झौता स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, २०८० साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेको घटनाको छानबिन प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रका विषयमा अध्ययन गरी सुझाव दिन गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले भूमि समस्या समाधान आयोगको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरेको छ। आयोगका सदस्यमा काठमाडौंका अमीरप्रसाद न्यौपाने, लमजुङका पद्मनीति सोती र काठमाडौंकी डा. रोहना श्रेष्ठ नियुक्त भएका छन्।



प्रतिक्रिया दिनुहोस्