काठमाडौं । वीर अस्पतालमा रहेका दुई अक्सिजन प्लान्ट लामो समयदेखि बन्द हुँदा अस्पतालले अक्सिजन खरिदमा करोडौं रुपैयाँ खर्च गरिरहेको छ ।
महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अस्पतालले २०७३ सालमा करबाहेक २ करोड ३५ लाख रुपैयाँमा अक्सिजन प्लान्ट खरिद गरेको थियो।
सम्झौताअनुसार जडानपछि दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र १० वर्षसम्म स्पेयर पार्ट्स उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि नियमित मर्मत सम्भार नहुँदा उक्त प्लान्ट २०७७ वैशाखदेखि बन्द अवस्थामा छ।
प्लान्ट सञ्चालनमा ल्याउन १३ लाख ९० हजार रुपैयाँको लागत अनुमान स्वीकृत भए पनि मर्मत कार्य अघि बढ्न सकेको छैन। राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरेर केही समय सञ्चालन भए पनि हाल पुनः बन्द रहेको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, नविल बैंकले २०७८ मा वीर अस्पताललाई हस्तान्तरण गरेको दैनिक १५० सिलिन्डर अक्सिजन भर्न सक्ने ८ करोड रुपैयाँ मूल्य बराबरको अर्को अक्सिजन प्लान्ट पनि हाल सञ्चालनमा छैन।
दुवै प्लान्ट बन्द रहेपछि अस्पतालले आर्थिक वर्षमा मात्र एक आपूर्तिकर्तामार्फत ३ करोड ९४ लाख रुपैयाँ बराबरको लिक्विड अक्सिजन खरिद गरी भुक्तानी गरेको महालेखाको निष्कर्ष छ।
अस्पतालका अक्सिजन प्लान्ट समयमै मर्मत गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसक्दा सरकारी स्रोतको प्रभावकारी उपयोग हुन नसकेको, अक्सिजन खरिदमा अनावश्यक व्ययभार थपिएको तथा उपकरणहरूमा थप क्षति पुग्ने जोखिम बढेको महालेखाले औंल्याएको छ।



प्रतिक्रिया दिनुहोस्