आइतबारदेखि ललितपुरमा घरेलु महासंघको राष्ट्रिय महाधिवेशन तथा महिला उद्यमी सम्मेलन हुदैँ


काठमाडौँ । आइतबारदेखि ललितपुरमा घरेलु महासंघको राष्ट्रिय महाधिवेशन तथा महिला उद्यमी सम्मेलन आयोजना हुने भएकाे छ ।

स्थापनाको ३६ वर्ष पूरा गरी ३७ औँ वर्षमा प्रवेश गर्न लागेको महासंघ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

जेठ २४ र २५ गते हुने महाधिवेशनमा देशभरका उद्यमीहरूको सहभागितासँगै उद्योग क्षेत्रका समसामयिक मुद्दामाथि व्यापक बहस हुने महासंघका अध्यक्ष उमेश प्रसाद सिँहले जानकारी दिए ।

महासंघले २०४७ सालमा स्थापना भएदेखि लघु, घरेलु तथा साना उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको विकास तथा महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिबृद्धिका क्षेत्रमा कार्य गर्दै आएको उनले बताए ।

हाल महासंघको संगठन सात सात वटै प्रदेश, ७७ वटै जिल्ला र तीन सय भन्दा बढी पालिकामा विस्तार भएको छ । साथै केन्द्रीय महिला उद्यमी समिति अन्तरगत सात प्रदेश, ६२ जिल्ला तथा विभिन्न पालिकाहरूमा महिला उद्यमी समितिहरू सक्रिय रहेको अध्यक्ष सिँहले बताए।

महासंघका अनुसार महाधिवेशनमा देशभरका सातै प्रदेश र ७७ वटै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमी प्रतिनिधिसहित करिब एक हजार जनाको सहभागिता रहने बताइएको छ ।

सम्मेलनले महासंघको संगठनात्मक सुदृढीकरण, विगतका गतिविधिको समीक्षा, भावी कार्यदिशा निर्धारण तथा लघु, घरेलु र साना उद्योग क्षेत्रका चुनौती र अवसरबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको महासंघका उपाध्यक्ष शेभा गुरुङले बताए ।

महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गरिने महाधिवेशनबाट महिला उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण, नवप्रवर्तन तथा बजार पहुँच विस्तारका विषयमा महत्वपूर्ण योजना र कार्यक्रम तय गरिने उपाध्यक्ष गुरुङले बताए । महाधिवेशन अवधिभर उद्यमीहरूले उत्पादन गरेका नेपाली वस्तुहरूको प्रदर्शनीसमेत आयोजना गरिनेछ ।

महासंघले कार्यक्रमको सफल आयोजनाका लागि विभिन्न उपसमितिहरू गठन गरी आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ । कार्यक्रमलाई भव्य, सभ्य तथा उपलब्धिमूलक बनाउन सरोकारवाला निकाय तथा सञ्चारमाध्यमको सहयोग र सहभागिताको अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले महाधिवेशनको तयारी बारे आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु मुकेश उपाध्याय, चन्दनकृष्ण श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, कोषाध्यक्ष अच्युत पाण्डे, महासंघ महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल लगायतका केन्द्रिय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।