एल निनोका कारण विश्वभर चरम मौसमी जोखिम बढ्ने डब्ल्युएमओको चेतावनी


विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ) ले प्रशान्त महासागरको उष्णकटिबंधीय क्षेत्रमा एल निनोको अवस्था विकसित भइरहेको र यसले आगामी महिनाहरूमा विश्वव्यापी तापक्रम र वर्षाको ढाँचामा गम्भीर प्रभाव पार्ने चेतावनी दिएको छ ।

यस प्राकृतिक मौसमी प्रणालीका कारण आगामी दिनहरूमा चरम मौसमी घटनाहरूको जोखिम उच्च रहने संगठनले जनाएको छ । जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा डब्ल्युएमओका महासचिव सेलेस्टे साउलोले सम्भावित शक्तिशाली एल निनो इभेन्टका लागि पूर्वतयारी गर्न आवश्यक रहेको बताइन् ।

डब्ल्युएमओको पछिल्लो अद्यावधिक प्रतिवेदनअनुसार सन् २०२६ को जुनदेखि अगस्ट महिनाको बिचमा एल निनो विकसित हुने सम्भावना ८० प्रतिशत रहेको छ । यो सम्भावना सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधिमा ९० प्रतिशत पुग्ने विशेषज्ञहरूको अनुमान छ । यसअघि सन् २०२३–२०२४ मा देखिएको एल निनो इतिहासकै पाँच शक्तिशाली घटनाहरूमध्ये एक थियो, जसले सन् २०२४ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न महत्वपूर्ण भूमिका खेलेको महासचिव साउलोले उल्लेख गरिन् ।

विभिन्न मुलुकका सरकार, मानवीय सहायता निकाय र जलवायु–संवेदनशील क्षेत्रहरूलाई समयमै सूचित गर्न डब्ल्युएमओले आगामी महिनाहरूमा मौसमी अवस्थाको सुक्ष्म अनुगमन गर्ने भएको छ । महासचिव साउलोका अनुसार सम्भावित जनधनको क्षति कम गर्न र एल निनोको प्रभावलाई न्युनिकरण गर्न मौसमी पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणाली अत्यन्त महत्त्वपूर्ण हुनेछन् । 

यसै सन्दर्भमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एक भिडियो सन्देश जारी गर्दै एल निनोले बढ्दो विश्वव्यापी तापक्रमको समस्यालाई आगोमा घिउ थपे झैँ थप भयावह बनाउने बताए । 

महासचिव गुटेरेसले वर्तमान जलवायु संकटको प्रभावकारी समाधानका लागि जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्न, नवीकरणीय ऊर्जाको विस्तारलाई तिब्रता दिन र सबैका लागि प्रारम्भिक चेतावनी प्रणाली सुनिश्चित गर्न विश्व समुदायसँग आग्रह गरे ।