नेपाल–भारत सहकार्य : स्वास्थ्य संस्था हस्तान्तरणदेखि डिजिटल भुक्तानी प्रणाली शुभारम्भ


काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्कर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बीच भएको भेटवार्तापछि नेपाल–भारत सहकार्यका विभिन्न परियोजनामा महत्वपूर्ण प्रगति भएको छ।

विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा परियोजना भर्चुअल माध्यमबाट हस्तान्तरण गरिएको बताएका छन्।

त्यसैगरी, भारतको यूपीआई र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस बिच अन्तरदेशीय व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउन प्रणालीगत आबद्धता (लिङ्केज) को संयुक्त रूपमा शुभारम्भ गरिएको छ। यसबाट दुवै देशबीचको डिजिटल भुक्तानी तथा रकम स्थानान्तरण प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ।

भेटका क्रममा भारतको डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालय बिच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि नेपालको राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माणसम्बन्धी समझदारीपत्र (एमओयू) आदानप्रदानसमेत भएको थियो। उक्त सहकार्यले नेपाली भाषासहित विभिन्न भाषामा डिजिटल पहुँच र प्रविधि विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।