स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा


काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आज मन्त्रालयम सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा सुधार कार्यक्रमका लागि ऐन संशोधन गरेर नै अघि बढ्न आवश्यक रहेको बताए।

उनले सरकारले बीमा क्षेत्रमा देखिएको गुनासोहरु तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आएको पनि बताए । सचिव देवकोटाले सरकारले स्वास्थ्य विमा कार्यक्रमलाई उच्च प्राथमिकता राखेको दाबी समेत गरे।

सरकारले विगतमा वर्षहरुमा भन्दा उक्त कार्यक्रमका लागि दोब्बर बजेट विनियोजन गरेकाले स्वास्थ्य बीमा कार्यक्रम सुधारमा फडको मार्ने अवस्था रहेको सचिव देवकोटाको जिकिर थियो ।

उनले भने,“बीमा सुधारको थुप्रै कुराहरू आएका छन् । बीमा ऐन संशोधन गर्नुपर्ने हुन्छ । साउन १ गतेबाट यो कुरा गर्नुपर्ने हुन्छ । यसमा सरकारको प्राथमिकता छ । चालू आर्थिक वर्षलाई छोडने हो भने विगत वर्षहरूमा विमाका लागि साढे ७ अर्ब बजेट हुन्थ्यो । आगामी वर्षका लागि १५ अर्ब विनियोजन भएको छ । त्यो भन्नुको मतलब उच्च प्राथमिकता दिइएको हो ।”

सचिव देवकोटाले सरकारले आगामी ३ वर्षभित्र आधार स्वास्थ्य सेवा आम नागरिकलाई पुर्‍याउने गरी सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।