करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले बजेट निर्माण हुनुअघि नै करका दर हेरफेर हुन लागेको सूचना चुहावट भएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले करका दरको जानकारी अर्थमन्त्री बाहेक कसैलाई नहुने अवस्थामा सूचना चुहावट हुनु गम्भीर विषय भएकाले अर्थमन्त्री वाग्लेमाथि संसदीय छानविनि हुनुपर्ने माग राखेका हुन् । उनले करका दर परिवर्तन हुने सूचना चुहावटकै आधारमा ७५६ वटा गाडी केरला नाकाबाट नेपाल भित्रिएको समेत जिकिर गरे ।

उनले भने, “करका दरको विषयमा अर्थमन्त्रीबाहेक कसलाई थाहा हुन्छ ? त्यो कुरा स्वयं अर्थमन्त्री र उनले स्वीकृत गरेको व्यक्तिबाहेक अरु कसैलाई पनि थाहा हुँदैन । तर आज सूचना लिक भएर ७५६ वटा गाडी केरला नाकाबाट भित्रिन्छन्, १४ गते भन्सार पास गरिन्छ । अनि जेठ २० गते गाडी आउँछन् । अनि यो चुहावट कसले गर्यो ? अनि सरकारले आफैंले छानविन समिति बनउँछ । आफैंले समिति बनाएर कर्मचारी डाम्नेतिर जान्छ । बजेट बन्दाखेरी करका दरको हेरफेर गर्ने कुरा अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन । त्यसको दुरुपयोग गरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभामुख महोदय । आजको कसको आधारमा गरियो यसको जवाफ अर्थमन्त्रीले संसदमा दिनुपर्छ ।”

उनले संख्याकै बलमा कुशासनको बाटोमा नलाग्न समेत रास्वपालाई आग्रह गरे ।