काठमाडौं । ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
दुवै संस्थाबीच भएको सहकार्यअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सबै स्टोरबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्दा तत्कालै ‘अन-द-फ्लाई ईएमआई’ सुविधा लिन सक्नेछन्।
यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक नपर्ने बैंकले जनाएको छ। ग्राहकले ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ताबन्दी अवधि छनोट गर्न सक्नेछन् भने योजनामा कुनै ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन।
यो सुविधाले विशेषगरी इलेक्ट्रोनिक्स तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकलाई तत्कालको आर्थिक भार कम गर्न र योजनाबद्ध रूपमा भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको छ।
सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकका लागि विशेष ‘ग्लोबल बीबीएसएम क्लब कार्ड’ समेत जारी गरिने भएको छ। ग्राहकको कारोबार इतिहास र आर्थिक गतिविधिका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड उपलब्ध गराइने जनाइएको छ।
सुरुआती चरणमा उक्त कार्ड भाटभटेनी र त्यसको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिनेछ। कार्डमार्फत ग्राहकले सहज भुक्तानीका साथै विभिन्न छुट, विशेष अफर र आगामी ग्राहक केन्द्रित योजनाको लाभ लिन सक्नेछन्।
दुवै संस्थाले आगामी दिनमा संयुक्त रूपमा छुट, क्यासब्याक, रिवार्ड तथा अन्य ग्राहक केन्द्रित योजना सञ्चालन गर्ने तयारी गरेका छन्। यस परियोजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारका रूपमा सहकार्य गरेको छ।
ग्लोबल आइएमई बैंकले देशभर ७७ जिल्लामा ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ। साथै, अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।



प्रतिक्रिया दिनुहोस्