लघु व्यवसायीलाई विद्युतीय माध्यमबाट कर्जा, अधिकतम १० लाखसम्म लिनसक्ने


काठमाडौँ । लघु, साना तथा मझौला व्यवसायीले विद्युतीय माध्यमबाट कर्जा पाउने भएका छन् । लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले मार्गदर्शन संशाेधन गरेकाे छ ।

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ संशोधन गर्दैं लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गरिने भएको हो ।

विद्युतीय कर्जा प्रदान गर्ने सिलसिलामा ग्राहकको विद्युतिय माध्यमबाट गरिएको कारोबारको विवरण, भुक्तानीसम्बन्धी विवरणलगायत व्यवसायसम्बन्धी अन्य विवरणबाट कर्जा विश्लेषण गर्ने कार्यका लागि बैंक तथा वित्तीय संस्थाहरुले प्रविधि प्रदायक संस्थाहरूसँग सहकार्य गर्न सक्नेछन् । यस सम्बन्धमा रहने जोखिमको व्यवस्थापन बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा तलवी एवं पेशागत तथा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्ति र लघु, साना तथा मझौला व्यवसायीले विद्युतीय कर्जा पाउनेछन् । ग्राहकको प्रकृतिअनुसार प्रदान गर्न सकिने विद्युतीय कर्जाको सीमा र भुक्तानी
अवधि तोकिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा तलवी एवं पेशागत तथा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिलाई ३ वर्षको लागि अधिकतम ५ लाख रूपैयाँसम्म पाउने छन् भने यस बाहेकका प्राकृतिक व्यक्तिले ३ वर्षको लागि २ लाख रूपैयाँसम्म पाउने छन् ।

लघु, साना तथा मझौला व्यवसायी (अल्पकालिन प्रकृतिको चालु पुँजी कर्जा) एक वर्षको लागि ५ लाख रूपैयाँसम्म पाउने छन् । यस्तै, लघु, साना तथा मझौला व्यवसायी (दीर्घकालिन प्रकृतिको चालु पुँजी कर्जा) १० लाख रूपैयाँसम्म सम्बन्धित बैंक तथा
वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जा नीति बमोजिम कर्जाको भुक्तानी अवधि निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध मर्चेन्टलाई यस मार्गदर्शनमा भएका कर्जा सीमाको अधिनमा रही कर्जा प्रदान गर्ने भएमा मर्चेन्टको सहमतिमा निजको व्यवसाय एवं कारोबारसम्बन्धीे आवश्यक पर्ने विवरण भुक्तानी सेवा प्रदायक संस्थाले कर्जा विश्लेषण गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउन सक्ने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाले विद्युतिय कर्जा विश्लेषणलाई सहयोग पुग्ने गरी अन्य प्रविधि प्रदायक संस्थाहरू सँग सहकार्य गर्न सक्नेछन् । यसरी प्रदान भएको कर्जामा निहित जोखिम सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहनेछ । यसरी विवरण प्राप्त गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले त्यस्तो विवरण प्रदान गर्ने संस्थासँग विवरण प्राप्त गर्ने प्रक्रिया, विवरणको गोपनियता एवं
आधिकारिकता, ग्राहकको सहमति लगायतका व्यवस्थाहरु समेटी सम्झौता गर्नुपर्ने छ । यसरी भएको सम्झौताको जानकारी यस विभागमा दिनुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा उपभोग गर्न चाहने ग्राहकलाई प्रणाली तथा प्रविधि प्रदान गर्ने संस्थामार्फत ग्राहकको सहमतिमा निजको व्यवसाय तथा कारोबारसँग सम्बन्धित आवश्यक विवरण विद्युतीय कर्जा विश्लेषण गर्ने प्रयोजनको लागि प्राप्त गर्न सक्नेछन् ।