नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले


काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताएका छन् । 

प्रतिनिधि सभाको अर्थसमितिमा उनले उक्त प्रकरणमा संलग्न व्यक्तिहरू चाँडै नै न्यायको कठघरामा पुग्ने बताए । उनले देशको राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने गतिविधिमा संलग्न समूहहरू अझै सक्रिय हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

वाग्लेकाअनुसार हाल केही विषयलाई मात्र उचालेर सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ । सुशासनको नारा लिएर आएको सरकारमाथि आधारहीन आरोप लगाएर हिलो छ्याप्ने प्रयास भइरहेको उनको आरोप छ । 

अर्थमन्त्री वाग्लेले करका दरहरुबारे लगाइएका आरोपहरू कुनै ठोस आधारविना आएको दाबी गर्दै ती प्रारम्भिक अवस्थामै खण्डित हुने प्रकृतिका रहेको बताए । उनले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै नियतमा कुनै कमजोरी नरहेको स्पष्ट पारे । 
सेतो कपडामा हिलो छ्यापेपछि केही दाग बाँकी रहनसक्ने उदाहरण दिँदै उनले त्यसै प्रकारले सरकारको छवि धुमिल पार्ने उद्देश्यसहित गलत प्रचार भइरहेको हुन सक्ने आशंका पनि व्यक्त गरे ।