‘मेरो कित्ता’को संस्थागत प्रयोगकर्ता बन्न बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सबै वर्गका बैंक तथा वित्तीय संस्था, लघुवित्त र पूर्वाधार विकास बैंकले ‘मेरो कित्ता’ प्रणालीमा संस्थागत प्रयोगकर्ता बन्न निर्देशन दिएको छ ।

नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरु जस्तैः जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट लिन तथा सोसँग सम्बन्धित राजश्व अनलाईनमार्फत् भुक्तानीका लागि ‘मेरो कित्ता’ प्रणालीमा संस्थागत प्रयोगकर्ता बनेर उक्त प्रणालीमार्फत् गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले एकआपसमा प्रदान गर्ने सापटीलाई नियमित कर्जा सापटको रुपमा नभई अन्तरबैंक कारोबार÷सापटीको रुपमा
मात्र प्रयोग गर्न पाइनेछ । अन्तरबैंक सापटीको अवधि बढीमा ७ दिनसम्म मात्र हुनेछ ।

तर, अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्था बिच हुने कर्जा कारोबार अन्तरबैंक कारोबार÷सापटीमा गणना नहुने भएको हो ।

यसरी सञ्चालित कार्यक्रमको विवरण यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा उपलब्ध गराउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।