काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले व्यवसायीलाई आशंकाकै भरमा पक्राउ गर्ने ‘थुन्ने संस्कृति’ अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
चेम्बरले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा बोल्दै उनले आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकडले लगानीमैत्री वातावरणमा नकारात्मक असर पर्ने बताए। उनले “पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कारबाही गर्ने” नीति अपनाउनुपर्ने भन्दै कानुनमा एन्टिसिपेटरी बेलको व्यवस्था गर्न आग्रह गरे।
उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाले निजी क्षेत्रमा त्रास बढाएको उल्लेख गर्दै २०६४ सालअघिको वैध सम्पत्तिको अभिलेख स्पष्ट नभएको विषयमा पुनर्विचार आवश्यक रहेको बताए ।
अग्रवालले एउटै क्षेत्रमा धेरै नियामक निकायको हस्तक्षेप, उजुरी प्रणालीको दुरुपयोग र ब्ल्याकमेलिङ बढ्दै गएको भन्दै ‘एक क्षेत्र–एक नियामक’ अवधारणा लागू गर्नुपर्ने सुझाव दिए।
त्यस्तै, नीतिगत अस्थिरता, भन्सार प्रणाली, यातायात दर्ता रोकजस्ता निर्णयले व्यवसायी समस्यामा परेको उल्लेख गर्दै नीति निर्माणअघि प्रभाव मूल्यांकन अनिवार्य हुनुपर्ने उनको भनाइ थियो।
उनले निजी क्षेत्रमैत्री वातावरण, सरल कर्जा प्रवाह, पूर्वाधार छिटो सम्पन्न गर्न ‘सनसेट ल’ र लगानी संरक्षण नीतिको आवश्यकता रहेको पनि जोड दिए।



प्रतिक्रिया दिनुहोस्