चिया निर्यात खुलाउन कूटनीतिक तथा राजनीतिक पहल गर्न प्लाइवुड उत्पादक सङ्घको आग्रह


काठमाडौं । नेपाल प्लाइवुड उत्पादक सङ्घले चिया निर्यातमा देखिएको अवरोध खुलाउन कूटनीतिक तथा राजनीतिक पहल गर्न आग्रह गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै सङ्घले समस्या समाधानका लागि गम्भीरताका साथ पहल कदमीका लागि माग गरेको हो ।

अध्यक्ष होमप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ हाल चियाको मुख्य सिजन सुरु हुनासाथ तयारी चिया निर्यात अवरद्ध हुँदा चिया खेतिमा आश्रित हजारौं कृषक, मदुर र चिया उद्योगीहरू गम्भीर समस्यामा पर्ने निश्चित छ भने राज्यले वैदेशिक व्यापारबाट आर्जन गर्ने आयसमेत गुम्ने अवस्था आएको छ ।”

भारतीय अवरोधका कारण नेपाली वस्तुहरू निकासीमा पटकपटक समस्याहरू भई नेपाली निर्यातकर्ता उद्यमीहरू व्यवसायीहरू, साथै कृषक तथा कामदारहरूले समेत गम्भीर असर झेल्दै आइरहनु परेको समेत सङ्घले स्मरण गराएको छ ।

भारतीय चिया बोर्डले गत मे १ देखि लागु गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यावहारिक मापदण्डका कारण नेपालबाट हुने चिया निर्यात हाल पूर्ण रूपमा ठप्प भएको छ ।

यस अवरोधका कारण पूर्वी नेपालका ८३ वटा चिया कारखानाहरू बन्द हुने अवस्थामा पुगेको छ ।

इलामको सूर्योदय नगरपालिकाका ५३ चिया उद्योगले असार १ गते देखि उत्पादन बन्दको घोषणा गरिसकेका छन् भने नेपाल चिया उत्पादक सङ्घले असार ४ गतेदेखि झापाका साना ठुला गरि ३० ओटा उद्योग र एक दर्जनभन्दा बढी चिया बगान बन्द गर्ने निर्णय गरिसकेको छ ।

चिया निर्यात अवरुद्ध भएपछि प्लाइवुड उत्पादक सङ्घले पनि चासो देखाएको हो ।