काठमाडौंँ । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति साढे आठ बजे तुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सडकमा सवारीसाधनको आवागमन सहज बनेको छ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो पन्छाएसँगै सडकमा दुवैतर्फबाट यातायात सञ्चालन गरिएको जानकारी दिए। अवरुद्ध सडक खुलेपछि यात्रु र सवारी चालकलाई राहत पुगेको छ।
यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्र भने अझै जोखिमपूर्ण रहेको बताइएको छ। उक्त क्षेत्रमा बेला–बेलामा पहिरो र ढुङ्गा खस्ने क्रम जारी रहेकाले यात्रु तथा चालकहरू सतर्कतासाथ यात्रा गर्न बाध्य छन्।
सडक प्रशासनले वर्षायाममा पहिरोको जोखिम बढ्ने भएकाले सो क्षेत्र हुँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्