तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्छः सांसद पराजुली


काठमाडाैँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले नेपाल–चीनबिचको ऐतिहासिक व्यापारिक नाका तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन् । 

२०४७ सालको राजनीतिक परिवर्तनपछि विशेषगरी तातोपानी नाकाको विषय ओझेलमा पर्दै गएको बताउँदै अब विशेष पहल गरेर पूर्ववत अवस्थामा फर्काउनुपर्ने बताएका हुन् ।

चीन सरकारले नाकाहरूमा आधुनिक संरचना निर्माण तथा स्मार्ट सिटी विकासको काम अघि बढाइरहेको भएपनि नेपालतर्फ भने अन्य नाकाहरूको तुलनामा तातोपानीले पर्याप्त प्राथमिकता नपाएको आफूले महशुस गरेको पराजुलीले बताए ।

चीनले यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गरी अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने तयारी गरिरहँदा नेपालतर्फ खासै प्रगति हुन नसक्नु दुखद भएको उनको भनाइ छ ।

आफू अहिले सत्तारूढ दलको सांसद र आफ्नै नेतृत्वको सरकार भएकाले तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन आफ्नो तर्फबाट आवश्यक सबै पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 

तातोपानी नाकाको स्थलगत अवस्थाबारे बताउँदै पराजुलीले चीनतर्फ निर्माण भएका संरचनाहरू सुरक्षित र व्यवस्थित देखिए पनि नेपालतर्फ भने सडक अवरुद्ध हुने, पहिरो जाने र बस्ती जोखिममा पर्ने जस्ता समस्या कायम रहेको र अब यसको दीर्घकालिन समस्या समाधानमा लाग्नुपर्ने बताए ।  

ऐतिहासिक महत्व बोकेको तातोपानी नाका नेपाल–चीनबीचको सम्बन्ध र व्यापारिक सम्पर्कको महत्वपूर्ण माध्यम भएको  बताउँदै उनले यसको नियमित सञ्चालनका लागि कुटनीतिक पहल आवश्यक रहेको पराजुलीले बताए ।

उनकाअनुसार नाका प्रभावकारी रूपमा सञ्चालनमा आउन सके नेपालको वैदेशिक व्यापार विस्तार हुनुका साथै व्यापार घाटा न्युनिकरणमा समेत सहयोग पुग्नेछ ।

तातोपानी नाकाको ऐतिहासिक महत्त्व, स्थानीयको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदानलाई ध्यानमा राख्दै सरकारले पूर्वाधार निर्माण, सडकको स्थायी समाधान र चीनसँगको कुटनीतिक संवादलाई तिब्रता दिनुपर्ने सांसद पराजुलीको भनाइ छ ।