कुल जनसङ्ख्याको एक चौथाइभन्दा बढी सेयर बजारसँग जोडिए


काठमाडौँ । नेपालको धितोपत्र बजारमा व्यक्तिगत लगानीकर्ताको सहभागिता तीव्र गतिमा बढिरहेको देखिएको छ ।

पछिल्ला वर्षहरूमा डिम्याट (हितग्राही) खाता तथा मेरो सेयर खाता खोल्ने लगानीकर्ताको सङ्ख्या निरन्तर वृद्धि हुँदै आएको तथ्याङ्कले देखाएको छ।


उपलब्ध तथ्याङ्कअनुसार २०७७ असार मसान्तसम्म करिब १७ लाख डिम्याट खाता खुलेको थियो। यो सङ्ख्या बढ्दै २०७७/७८ को अन्त्यमा ३७ लाख ३६ हजार ९२६ पुगेको थियो। त्यसपछि २०७८/७९ मा ५१ लाख ५० हजार, २०७९/८० मा ५६ लाख ६५ हजार र २०८०/८१ मा ६२ लाख ७२ हजार ३५१ डिम्याट खाता पुगेका थिए।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म डिम्याट खाताको सङ्ख्या ६९ लाख ९७ हजार ९०० पुगेको थियो भने चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म यो सङ्ख्या बढेर ७९ लाख ३८ हजार ३६५ पुगेको छ । यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको २६ प्रतिशतभन्दा बढी रहेको उल्लेख गरिएको छ ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी डिम्याट खाता बाग्मती प्रदेशमा ३३.८५ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३.०४ प्रतिशत रहेको छ। त्यसैगरी कोशी प्रदेशमा १८.९४ प्रतिशत, गण्डकीमा १२.३४ प्रतिशत, लुम्बिनीमा १२.२० प्रतिशत, मधेशमा १२.८१ प्रतिशत र सुदूरपश्चिममा ६.७४ प्रतिशत डिम्याट खाता खुलेका छन्।

लैंगिक आधारमा हेर्दा डिम्याट खाता भएका लगानीकर्तामध्ये ५७.२१ प्रतिशत पुरुष र ४२.६७ प्रतिशत महिला रहेका छन्।

उमेर समूहका आधारमा १९ देखि ३० वर्ष उमेर समूहका लगानीकर्ताको हिस्सा सबैभन्दा बढी ३०.१२ प्रतिशत रहेको छ।

३१ देखि ४० वर्ष समूहका २३.२४ प्रतिशत, ४१ देखि ६० वर्ष समूहका २५.८७ प्रतिशत, १८ वर्षमुनिका १२.३१ प्रतिशत, ६१ देखि ७० वर्ष समूहका ५.३८ प्रतिशत तथा ७१ वर्षभन्दा माथिका ३।०४ प्रतिशत लगानीकर्ताको डिम्याट खाता रहेको तथ्यांकमा उल्लेख छ।

यस्तै, मेरो सेयर खाताको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ। २०७७ असारमा करिब ७ लाख रहेको मेरो सेयर प्रयोगकर्ताको सङ्ख्या २०७८ असारमा बढेर २८ लाख ५१ हजार ८०३ पुगेको थियो। २०७८/७९ को अन्त्यमा ४३ लाख ६८ हजार ६३९, २०७९/८० मा ४७ लाख ४१ हजार ५५ र २०८०/८१ मा ५३ लाख २२ हजार ९६९ पुगेको थियो।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म मेरो सेयर खाताको सङ्ख्या ५९ लाख ७३ हजार पुगेको थियो भने चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बढेर ६८ लाख ६७ हजार पुगेको छ। यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको करिब २३ प्रतिशत बराबर रहेको छ।