मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग कोक्यापको माग


काठमाडौं । शान्तिका लागि सामूहिक अभियान ९कोक्याप० ले मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

आइतबार आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा कोक्याप अध्यक्ष पुष्प भुसाल ले मानव अधिकार रक्षकहरूले चुनौतीपूर्ण परिस्थितिमा पनि लोकतन्त्र, जवाफदेहिता, विधिको शासन र मानव अधिकार संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

उहाँले मानव अधिकार रक्षक संरक्षण नीति तत्काल स्वीकृत गरी कार्यान्वयनमा ल्याउन आग्रह गर्दै रक्षकहरू अझै पनि जोखिम, उत्पीडन, धम्की तथा कतिपय अवस्थामा हिंसाको छायाँमा काम गर्न बाध्य रहेको उल्लेख गर्नुभयो। डर, त्रास र हस्तक्षेपविहीन वातावरणमा स्वतन्त्र रूपमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए ।

भुसालले नेपालको मानव अधिकार अवस्था जटिल बन्दै गएको र नागरिक स्पेस क्रमशः खुम्चिँदै गएको भन्दै मानव अधिकार रक्षकहरूको सुरक्षा राज्य, नागरिक समाज र सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी भएको बताए।