जग्गा तथा आवास विकास व्यवसायीद्वारा विदेशमा रहेका नेपाली आकर्षित गर्ने प्रयास, प्रर्दशनीमा छुट्टै ‘सेगमेन्ट’ हुने


काठमाडौँ । जग्गा तथा अवास विकास व्यवसायीले विदेशमा रहेका नेपालीलाई लक्षित गरेर कार्यक्रम चलाउने भएका छन् ।

आउँदो असोजमा हुने एक्सपोलाई आधार मानेर जग्गा तथा आवास विकास व्यवसायीले रोजगारीका शिलशिलामा विदेशमा रहेका नेपाली र नेपालमा सम्पत्ति जोड्न चाहने गैरआवासीय नेपालीलाई लक्षित गरेर जग्गा तथा आवाससम्बन्धी अभियान चलाउने भएका हुन् ।

आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आयोजना हुँदैछ ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिकोत्सव (हिरक जयन्ती)को अवसर पारेर प्रर्दशनी हुन लागेको हो ।

प्रर्दशनी समिति संयोजक तथा महासङ्घका महासचिव रोशन भोयद्याले गैरआवासीय नेपाली र रोजगारीका शिलशिलामा विदेशमा रहेका नेपालीलाई लक्षित गरेर कार्यक्रम बनाउने सोंच भएको बताए ।

उनले भने,“विदेशमा रहेका नेपालीलाई लक्षित गरेर हामीले कार्यक्रम बनाउनुपर्छ भन्ने सोंच हो । कोही दुबईमा छन्, कोही मलेसिया छन्, यस्तै विभिन्न देशमा नेपालीहरू फैलिएका हुन्छन् । कतिपय गैरआवासीय नेपालीले नेपालमा सम्पत्ति जोड्न चाहिरहेको हुन्छ । उनीहरूको एउटा सपना घर र जग्गा नै हो । उहाँहरूलाई यसमा जोड्ने कोसिसमा छौँ ।”

आगामी असोजमा हुने प्रर्दशनीमा विदेशमा रहेका नेपालीलाई लक्षित गरेर डेपलपरहरूलाई विशेष छुट र सेगमेन्ट सञ्चालन गर्न दिने तयारी छ ।

महासचिव भोयद्याले भने,“प्रर्दशनीमा सहभागि डेपलपरहरूले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर विभिन्न छुटसहितका सेगमेन्ट नै सञ्चालन गर्नुहुन्छ ।”

प्रर्दशनीमा भारत, चीन, मलेसिया र बङ्गलादेशबाट घर निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरूलाई जोड्ने तयारी भएको छ ।

साथै विगतका प्रर्दशनी काठमाडौँ उपत्यकाका व्यवसायी मात्रै सहभागि भएको भन्दै यसपटक उपत्यका बाहिरका व्यवसायीलाई पनि सहभागि गराउने प्रयास भइरहेको छ ।