काठमाडाैँ । नेपाल र जापानबिचको सम्बन्ध र ७० वर्षको सहकार्यलाई लक्षित गर्दै काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने भएको छ ।
एमजे इन्टरटेनमेण्ट र एमएन प्रोडक्शनको संयुक्त आयोजनामा आगामी कात्तिक १४ गते लैनचौरस्थित एक होटलमा यो महोत्सव हुन लागेको हो । एमजे इन्टरटेनमेण्ट एण्ड एमएन प्रोडक्शनका प्रतिनिधि जित लामाकाअनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको मुख्य उद्देश्य सांस्कृतिक आदानप्रदानका साथै परोपकारी कार्यमा सहयोग पु¥याउनु रहेको छ । टिकट विक्रीबाट प्राप्त हुने कुल रकमको ५० प्रतिशत हिस्सा सामाजिक संस्था जाइकाले गरिरहेका विभिन्न कल्याणकारी कार्य र अनाथ बालबालिकाहरूको सहयोगका लागि खर्च गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा सहभागी हुन चाहने दर्शकका लागि टिकट दर १ हजार रुपैयाँ निर्धारण गरिएको छ । जसमा भीआईपी र जनरल सबैका लागि समान शुल्क रहनेछ । डिजिटल भुक्तानी पार्टनरका रूपमा ‘खल्ती’ एपमार्फत टिकट खरिद गर्न सकिनेछ । सांगीतिक आकर्षणका लागि जापानबाट ताके कोकुयो, रियो, सन र सुमो रेसलरहरूको विशेष प्रश्तुति रहनेछ ।
त्यस्तै, नेपालका तर्फबाट कुम सागर एण्ड द खाेपा, पूर्ण राई एण्ड दाजुभाइ, बेख र एवाइजी (¥यापर) लगायतका कलाकारहरूले आ–आफ्नो प्रश्तुति दिनेछन् ।
खाद्य महोत्सवअन्तर्गत जापानको होक्काइदो ग्रुपले जापानी परिकारहरूको स्टल राख्नेछ भने नेपालको तर्फबाट नेवारी, राई, गुरुङ र तामाङ समुदायका मौलिक स्वादका छुट्टाछुट्टै स्टलहरू रहनेछन् । महोत्सवको अर्को विशेष आकर्षण ‘हलोविन पार्टी’ रहनेछ ।
सोही दिन अन्तर्राष्ट्रिय हलोविन पर्व समेत परेकाले जापान र नेपालका विभिन्न सांस्कृतिक तथा आधुनिक कस्ट्युमहरूको प्रदर्शन (कस्पले) गरिने आयोजकले जानकारी दिएको छ । ३ हजार ५०० क्षमताको कार्यक्रम स्थलमा ५ हजारभन्दा बढी दर्शकको आवागमन हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्