२४ घण्टामा २,४३८ सवारीचालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन


काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि प्रहरीले कारबाहीलाई निरन्तर कडाइ गरेको छ। पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा २ हजार ४३८ जना सवारीचालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाहीमा मापसे गरेर सवारी चलाउने ८५ जना, नियमविपरीत राइड सेयरिङ सञ्चालन गर्ने १३० जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १२३ जना, तीव्र गतिमा सवारी चलाउने १६० जना तथा लेन अनुशासन उल्लङ्घन गर्ने १२२ जना परेका छन्।

त्यस्तै, अनावश्यक हर्न बजाउने ८८ जना, लागुपदार्थ सेवन गरेर सवारी चलाउने तीन जना र बढी धुवाँ उत्सर्जन गर्ने २७ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ७०० जना चालकलाई समेत कानुनअनुसार कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियमित निगरानी तथा कारबाही अभियान जारी रहने जनाउँदै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।