काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा पहिलोपटक केन्द्रीय कार्यकारिणी समितिमा निर्वाचित सदस्यले प्रभावशाली उपस्थिति जनाएका छन् ।
महासङ्भित्र रहेका विभिन्न समितिमा पहिलोपटक निर्वाचित भएर आएका केन्द्रीय सदस्यले महत्वपूर्ण समिति सभापतिको जिम्मेवारी पाएका हुन् ।
विगतमा पहिलोपटक निर्वाचित भएर आएका केन्द्रीय सदस्य समितिको नेतृत्व दिँदा कम प्राथमिकतामा पर्ने गरेका थिए ।
असार ८ गते नियुक्त भएका सभापतिमा यसपटक झण्डै ४५ प्रतिशतमा पहिलो पटक निर्वाचित भएर आएका केन्द्रीय कार्यकारिणी समिति सदस्यले समितिको नेतृत्व गर्ने अवसर पाएका छन् ।
पहिलोपटक महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्य बनेका विदुर धमलाले सहरी विकास, मनोनितबाट आएकी सहारा जोशीले स्टार्टअप एन्ड इनोभेसन समिति सभापति, प्रियराज रेग्मीले पूँजी बजार समिति सभापति, होमप्रसाद घिमिरेले निर्यात समिति सभापति, संघर्ष विष्टले पर्यटन तथा हवाई यातायात समितिको र विप्लव अधिकारीले स्वास्थ्य विज्ञान समिति सभापतिको जिम्मेवारी पाएका छन् ।
महिला उद्यमी विकास समिति सभापतिमा सुनिता नेमाफुकी, सूचना तथा सञ्चार प्रविधि विकास समिति सभापतिको जिम्मेवारी सुनैना घिमिरेले जिम्मेवारी पाएका छन् । सबै पहिलोपटक केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्वाचित भएका हुन् ।
पुँजीबजार फोरमका सभापति प्रियराज रेग्मीले महासङ्घमा पहिलोपटक भए पनि आआफ्ना क्षेत्रमा क्रियाशील नेतृत्व भएकाले अध्यक्षले विश्वास गरेको हुन सक्ने बताए ।
उनले भने,“महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्य र समिति सभापतिको हैसियतमा नयाँ भए पनि महासङ्घै विभिन्न समितिमा रहेर काम गरेको अनुभव छ । आआफ्नो क्षेत्रको विज्ञता,ज्ञान र अनुभव भएका साथीहरू हुनुहुन्छ । त्यसैले नयाँ भए पनि जिम्मेवारी दिइएको हुनसक्छ ।”
विषयतगत समितिको सभापतिको जिम्मेवारी पाएका सबैले नीतिगत वहस, छलफल गर्ने, आफ्ना क्षेत्रका मुद्दाहरू उठान गर्ने र महासङ्घको भूमिकालाई प्रभावकारी बनाउनेमा सबैको योगदान हुने सभापति रेग्मीको उनको विश्वास छ ।
तेस्रो कार्यकालका लागि निर्वाचित भएका अरनिको राजभण्डारीले कर तथा राजस्व समिति सभापति र हेमन्त गोल्छाले बैंक, वित्तीय तथा बीमा समिति सभापतिको जिम्मेवारी पाउँदा भक्त हमाल जिम्मेवारीविहिन बनेका छन् । महासङ्घको तेस्रो कार्यकालका लागि केन्द्रीय सदस्य बनेका शिवप्रसाद घिमिरेले कृषि उद्यम केन्द्रको सभापति बनेका छन् ।
दोस्रो कार्यकाल निर्वाचित भएर समिति सभापतिको जिम्मेवारी पाउनेमा उद्योग समिति सभापतिमा उज्ज्वल श्रेष्ठ, व्यापार समिति सभापतिमा नवीन रिजाल,सामाजिक सेवा समितिको सभापतिमा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समिति सभापति रविन पुरी, व्यापार मेला समितिको सभापतिमा सविन श्रेष्ठ र सीप विकास तथा रोजगार समितिको सभापतिमा नानीराज घिमिरे छन् ।



प्रतिक्रिया दिनुहोस्