विमान नथपेसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सम्भव छैनः क्यान


काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक मुकेश डंगोलले विमानको संख्या नथप्दासम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्न नसकिने बताएका छन् । 

सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले विमानस्थल विस्तारसँगै वायुसेवाको क्षमता पनि समानान्तर रूपमा नबढाउँदासम्म नियमित उडान सम्भव नहुने बताएका हुन् ।

उनले नेपालका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न स्वदेशी वायुसेवा कम्पनीहरुको लागि  जहाज थप्न विशेष सहुलियत प्याकेज ल्याउन सरकारसमक्ष आग्रह गरे ।

उनकाअनुसार नेपाल वायुसेवा निगमसँग हाल दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी तथा हिमालय एयरलाइन्ससँग चारवटा न्यारोबडी गरी अन्तर्राष्ट्रिय उडानका लागि कुल आठवटा जहाज मात्रै सञ्चालनमा छन् ।

अन्य निजी वायुसेवा कम्पनीहरूसँग रहेका साना विमानले क्षेत्रीय उडान मात्रै गर्नसक्ने उनको भनाइ छ । उनले सबै विमानस्थलहरूलाई नियमित रुपमा सञ्चालन गर्न विदेशी कम्पनीहरुलाई हारगुहार गर्नुभन्दा स्वदेशी वायुसेवा कम्पनीलाई थप जहाज ल्याउने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए ।

महानिर्देशक डंगोलले जहाज लिजमा ल्याउँदा लाग्ने उच्च लिज कर र खरिद गर्दा अग्रिम रूपमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने व्यवस्थाले वायुसेवा कम्पनीहरुलाई निरुत्साहित गरिरहेको बताए ।

उनले भने, ” विमानस्थलहरूलाई दिगो रुपमा चलाउने हो भने हाम्रा वायुसेवारूलाई जहाज ल्याउने वातावरण र व्यावसायिक वातावरण बनाउनुपर्ने हुन्छ । त्यसकाम लागि नागरिक उड्डयन प्राधिकरणले एक्लैले गर्न सक्दैन । वायुसेवा कम्पनीहरूका लागि व्यावसायिक वातावरण बनाउनका लागि सरकारका विभिन्न निकायहरूबिच आवश्यक समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ । हामीले हाम्रा वायुसेवाहरुलाई वायुयान प्राप्तिका लागि विशेष प्याकेजहरु ल्याउनुपर्ने दिन आइसकेको अवस्था छ ।”

उनले पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न विदेशी वायुसेवामाथि निर्भर हुनुभन्दा स्वदेशी वायुसेवा कम्पनीलाई सुदृढ बनाउन विशेष नीतिगत तथा कर सहुलियतसहितको प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।