आइक्यान अध्यक्ष र उपाध्यक्ष चयन गर्न असार ३२ गते निर्वाचन ,सरकारले पठाउने सदस्यको अझै टुङ्गो छैन



काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)को निर्वाचन असार ३२ गते हुने भएको छ ।

असार ३१ गते प्रस्ताव गरिएको मिति परिवर्तन गर्दै आइक्यानले ३२ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

धुलीखेलमा भएको परिषद् बैठकले ३२ गते निर्वाचनको मिति तय तोकेको आइक्यानले जनाएको छ ।

काउन्सिल सदस्यले अध्यक्ष र उपाध्यक्ष चयन गर्नेछन् । आइक्यानले छनौट गर्ने अध्यक्ष र उपाध्यक्षको कार्यकाल एकएक वर्षको हुन्छ । विधानमा व्यवस्था नभए पनि उपाध्यक्ष नै अध्यक्ष हुने गरी परिषद्मा निर्वाचन हुने गर्दछ ।

सरकारले अध्यादेश ल्याएपछि तीनजना परिषद सदस्यको पद भने खाली छ ।

सरकारले तीन जना परिषद सदस्य नपठाए १७ सदस्यीय काउन्सिलमा चुनावका बेला १४ जना मात्रै रहने छन् ।

सरकारले अहिलेसम्म सदस्य पठाउने तयारी गरेको छैन । अर्थ मन्त्रालयले सदस्य सिफारिसका लागि महालेखापरीक्षकको कार्यालयलाई अनुरोध गर्छ । महालेखाले सिफारिस गरेका सदस्यलाई मन्त्रिपरिषद्बाट नियुक्त गरेर आइक्यानको परिषद् सदस्यमा पठाउने गरिन्छ ।

महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईले सिफारिसका लागि पत्र नआएको बताए ।

उनले भने,“ आइक्यानमा पठाउने परिषद सदस्य सिफारिस गर्न अर्थ मन्त्रालयले पत्र पठाउँछ तर अहिलेसम्म आएको छैन ।”

निर्वाचनमा मतदानका लागि सरकारले तत्कालै परिषद् नियुक्त गर्नुपर्ने छ ।