तामाकोशी जलविद्युत् कम्पनीद्वारा १६ मेगावाटकाे नयाँ क्यासकेड आयोजना प्रस्ताव,लाइसेन्सका लागि निवेदन



काठमाडौँ । ९९.८ मेगावाटको तामाकोशी ५ जलविद्युत् आयोजना निर्माण गरिरहेको तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले १६ मेगावाटको क्यासकेड आयोजनाको लाइसेन्सका लागि आवेदन दिएको छ ।

कम्पनीले आफ्नै आयोजनाको क्यासकेड आयोजना ‘तामाकोशी-६’ का लागि निवेदन दिएको हो ।

तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले यही असार ४ गते विद्युत् विकास विभागमा निवेदन दिएको जनाएको छ ।

२ अर्ब ५८ करोड २६ लाख लागत अनुमान गरिएको अयोजनाको प्रतिमेगावाट लागत १६ करोड १४ लाख रुपैयाँ छ ।

यो आयोजना तुलनात्मक रुपमा सस्तो छ । तामाकोशी-५ जलविद्युत् आयोजनाको टेलरेस डिस्चार्ज उपयोग गरेर निर्माण गरिने यो आयोजनाका लागि हेडवक्र्स निर्माण गर्न आवश्यक जग्गाको भोगाधिकार पहिले नै तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको नाममा प्राप्त भइसकेको छ ।

प्रस्तावित आयोजनाको पावरहाउस तथा टेलरेस निर्माणका लागि आवश्यक जग्गाको भोगाधिकार पनि कम्पनीको नाममा प्राप्त भइसकेको कम्पनीको प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा भनिएको छ,“यो आयोजनाका लागि केबल पेनस्टक तथा सर्ज ट्याङ्क क्षेत्रका लागि मात्र थप जग्गा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ । आयोजनाका लागि हेडवक्र्स संरचना निर्माण आवश्यक नपर्ने र प्रशारण लाइन संरचना निर्माण खर्च न्यून हुने अनुमान छ ।”

प्रस्तावित आयोजनाबाट ११ केभीमा उत्पादन हुने विद्युत् तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको जेनेरेटिङ् सबस्टेसनमा जडान गर्न सकिने हुँदा नयाँ २२० केभी प्रशारण लाइन तथा सम्बन्धित संरचना निर्माण गर्न पर्दैन ।

यसले गर्दा प्रशारण पूर्वाधारमा लाग्ने लागत अत्त्यन्त कम हुने अनुमान छ ।

हाल निर्माणधिन ९९.८ को तामाकोशी ५ बाट प्राप्त अनुभव, भौगोलिक, अध्ययन स्थानीय सामाजिक सम्बन्ध तथथा व्यवस्थापन क्षमताको प्रत्यक्ष लाभ प्राप्त हुने भएकाले तामाकाेशी-६ आयोजना छिटो तथा प्रभावकारीरूपका गर्न सकिने कम्पनीको विश्वास छ ।