काठमाडाैँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले यस्तो आग्रह गरेका हुन् । उनले गत भदौ २३ र २४ गतेपछि मुलुकमा आशाका केही किरण देखिएको उल्लेख गर्दै त्यसको सही ढंगले व्यवस्थापन गर्ने कार्यभार सरकारको रहेको बताए ।
उनले भ्रष्टाचार अन्त्य सबैको साझा एजेन्डा भएपनि पछिल्लो समय भ्रष्टाचारलाई केवल अघिल्लो सरकारसँग मात्र जोडेर हेर्ने प्रवृत्ति रहेकोप्रति चिन्ता व्यक्त गरे । वर्तमान सरकार पनि भविष्यमा त्यही प्रकारको आरोपबाट लाञ्छित हुने अवस्था आउन नदिन सुशासन र पारदर्शितामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले भने, “गत भदौ २३ र २४ गतेको परिवर्तनपछि मुलुकमा केही आशाका किरणहरु देखाएको छ । त्यो परिवर्तनलाई व्यवस्थापन गर्ने कुरा र भ्रष्टाचार मुलुकबाट हटाउनुपर्छ नभन्ने कोही पनि थिएन । तर अर्को पक्ष आइसकेपछि भ्रष्टाचार हिजो राज्यसत्तामा बस्नेले गरेको हो भन्ने कुरा देखाइँदो रहेछ । अब वर्तमान पनि त्यस्तो किसिमबाट लाञ्छित हुने अवस्था नरहोस् । नेपालमा जलविद्युत आयोजनाको सम्भाव्यता ८३ हजार मेगावाट हो । तर २०२५ देखि २०८० सम्म हामीले ६० हजार मेगावात उत्पादन क्षमाताको आधारमा हेर्दा रहेछौँ । विद्युत निर्यात गर्ने कुरामा फेरि हामी त्यत्तिकै चासो दिइरहेका छौँ । छिमेकी मुलुक भारतलाई आवश्यकता छ, तर विद्युतभन्दा बढी उसलाई पानीको आवश्यकता छ । त्यसै कारणले कर्णाली जलविद्युत आयोजना निर्माण शुरु भएको २५ वर्ष भइसक्यो तर त्यसले अझै अन्तिम रुप दिन सकेका छैनौँ । यसमा हाम्रो हिसाब किताबमै समस्या छ ।”
उनले खेतीयोग्य जमिन बाझो राख्न नदिने नीति सरकारले लिनुपर्नेमा जोड दिए । कृषक आफैँले नभएपनि अरुलाई खेति गर्न दिनेगरी राज्य अघि नबढेसम्म मुलुककमा समृद्धि सम्भव नहुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्