सञ्चारगृह अगाडि शङ्कास्पद गाडी पार्किङ : पार्टी निकटका मान्छेको नाम जोडिन थालेपछि रास्वपा बोल्यो


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शङ्कास्पद रूपमा राखिएको र सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने प्रयास गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै राज्यको चौथो अङ्गका रूपमा रहेका आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने यस्ता रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लङ्घन भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अङ्गलाई सङ्कुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैन ।”

रास्वपाले स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु भएको भन्दै आफू सधैँ पूर्ण प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारेको छ । सञ्चार क्षेत्रलाई त्रसित बनाउने उद्देश्यले गरिएका यस्ता कदमहरूको भत्र्सना गर्दै रास्वपाले घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

साथै, सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र शङ्कास्पद गतिविधिमा संलग्न जोकोहीको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा रास्वपाले सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको व्यावसायिक धर्म निर्वाह गर्न अपिल गर्दै सञ्चारकर्मी र सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सधैँ खडा रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रारम्भिक अध्ययनले केही गाडि रास्वपा निकटका व्यक्तिको नाम जोडिएको छ । यसबारे विस्तृत जानकारी भने आइसकेको छैन । घटनाबारे रास्वपाले तत्काली आफ्नाे धारणा सार्वजनिक गरेकाे छ ।