विदेशी विनिमय सञ्चिती साढे ३७ खर्ब रूपैयाँ पुग्यो


काठमाडौँ । २०८३ जेठ मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चिती ३७ खर्ब ५५ अर्ब ६४ करोड रूपैयाँ पुगेको छ ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ जेठ मसान्तमा २६.५ प्रतिशतले वृद्धि भएर २४ अर्ब ६८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ जेठ मसान्तमा ३३ खर्ब ३० अर्ब ७ करोड रूपैयाँ पुगेको छ ।

२०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रूपैयाँ रहेकोमा २०८३ जेठ मसान्तमा ३७.९ प्रतिशतले वृद्धि भएको हो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रूपैयाँ रहेकोमा २०८३ जेठ मसान्तमा ६१.८ प्रतिशतले वद्धि भई ४ खर्ब २५ अर्ब ५७ करोड रूपैयाँ कायम भएको छ ।

२०८३ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२÷८३ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८३ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.५ प्रतिशत, १५९.५ प्रतिशत र ४३.७ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।