लगानीकर्ता सुरक्षादेखि पुँजी बजारको आधुनिकीकरणसम्म प्राथमिकतामा राखिने


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी दशकका लागि तयार गरेको पुँजी बजार विकास मार्गचित्र र आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा लगानीकर्ता सुरक्षा, बजार पूर्वाधार सुधार, नियामकीय क्षमता अभिवृद्धि तथा पुँजी बजारको आधुनिकीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

बोर्डले सोमबार जारी गरेको प्रेस नोटमार्फत नेपालको पूँजी बजार संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको सुदृढीकरणतर्फ अघि बढिरहेको भए पनि बजारको आकार, गहिराइ, वित्तीय साधनको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट सुशासन र अन्तरसम्बद्ध बजार संरचनालाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ ।

बोर्डका अनुसार धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानका लागि अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाइनेछ । साथै लगानीकर्ता सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार, अनधिकृत लगानी परामर्श, फिनफ्लुएन्सर (ँष्लागिभलअभचक) बाट बजार प्रभावित पार्ने गतिविधि तथा वित्तीय ठगीविरुद्ध प्रभावकारी नियामकीय निगरानी गरिनेछ।

प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) प्रक्रियालाई थप व्यवस्थित बनाउन सरोकारवालाबाट प्राप्त सुझावका आधारमा सम्बन्धित नीतिमा सुधार गरिने बोर्डले जनाएको छ । कम्पनीको वित्तीय तथा व्यवस्थापकीय पक्षको बहुआयामिक अध्ययन गरी निष्कासन अनुमति दिने व्यवस्था थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी भइसकेको अवस्थामा यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी देखिएका व्यावहारिक समस्या समाधान गरिने बोर्डले जनाएको छ।

बजारमा सूचीकरणपछिको धितोपत्रको माग र आपूर्तिबिच सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लक–इन अवधि र बोर्डबाट सम्बन्धित व्यवस्थाको पुनरावलोकन गरिनेछ । यस्तै लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारका शुल्क संरचनासमेत पुनरावलोकन गरिने नीति लिइएको छ।

सेबोनले नेप्सेको सूचकलाई अल इक्वीटी इन्डेक्सका रूपमा कायम राख्दै कारोबारयोग्य सेयरका आधारमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई बेन्चमार्क सूचकाङ्कका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइने जनाएको छ ।
सामाजिक सञ्जालमार्फत सर्वसाधारण लगानीकर्ताबाट आइपिओ अघि नै पुँजी सङ्कलन गर्ने प्रवृत्तिलाई समेत नियमनको दायरामा ल्याइने बोर्डले जनाएको छ।

बोर्डका अनुसार यी सुधारका अतिरिक्त नेपालको पुँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने लक्ष्यसहित तयार गरिएको आगामी दशकको पूँजी बजार विकास मार्गचित्र तथा आर्थिक वर्ष २०८३÷८४ को नीति, कार्यक्रम र कार्यान्वयन योजना बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ ।