आइक्यानको निर्वाचन आज,अध्यक्ष र उपाध्यक्षमा रोचक भिडन्त


काठमाडौँ । नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)मा अध्यक्ष र उपाध्यक्ष चयनका लागि आज निर्वाचन हुँदै छ ।
आइक्यानको ३० वर्षे इतिहासमा दोस्रोपटक अध्यक्षको पदमा समेत निर्वाचन हुँदैछ ।

विगतमा आइक्यानमा सामान्यतया अध्यक्षलाई छोड्ने चलन भए पनि यसपटक समिकरण बदलिएको छ ।

अध्यक्षमा वर्तमान उपाध्यक्ष आनन्दराज वाग्ले र ठाकुरप्रसाद अधिकारी भिड्दैछन् । उपाध्यक्षमा हेमकुमार काफ्ले र अमन उप्रेती भिड्दैछन् ।

स्रोतका अनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी निकटका उम्मेदवारबिच निकटता देखिएको छ । यो कार्यकाल एमालेका नीलबहादुर सारु अध्यक्ष भएका थिए ।

विगतको निरन्तरताअनुसार हो भने नेपाली कांग्रेस निकट वाग्ले अध्यक्षमा स्वतः हुने अवस्था थियो । राष्ट्रिय राजनीतिमा आएको समिकरणसँगै आइक्यानमा समिति समिकरण बदलिएको आशङ्का गरिएको छ ।

यसपटक कांग्रेस निकटका वाग्लेलाई अध्यक्ष र रास्वपा निकट काफ्लेलाइ उपाध्यक्ष बनाउने गरि चलखेल भएको केही पार्षदहरूको आशङ्का छ । छापामार शैलीमा अध्यक्षमा समेत उम्मेदवारी दर्ता भए पछि १७ सदस्यीय काउन्सिलमा हलचल भएको थियो ।

निकट स्रोतकाअनुसार अधिकारी अघिल्लो चुनावमा भोट नहाली ‘गायब’ भएका कारण एउटा समूह असन्तुष्ट छ ।

यसको फाइदा वाग्लेलाई हुने देखिन्छ । उपाध्यक्षका उम्मेदवार उप्रेती अवार्डको विवादमा परेका कारण अध्यक्षका उम्मेदवार वाग्लेले फरक समिकरण तयार गरेको र उप्रेतीमाथि जोखिम लिन नचाहेको केही पार्षदको आँकलन छ ।

आइक्यानभित्र रहेको १७ सदस्यीय काउन्सिलले अध्यक्ष र उपाध्यक्ष छान्ने व्यवस्था छ । १७ जनामा तीनजना सरकारका प्रतिनिधि हुन्छन् ।

आइक्यान नेपालको आर्थिक तथा वित्तीय क्षेत्रलाई सुरक्षित, पारदर्शी र व्यवस्थित राख्ने एक मात्र आधिकारिक र स्वायत्त नियमनकारी निकाय हो ।

नयाँ नेतृत्व चयनका लागि आज १२ बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ ।