काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पुँजीबजारको विकासमा तीव्रता ल्याउन भन्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सिडिएससी एन्ड क्लियरिङसँग छलफल गरेको छ ।
नेपाल धितोपत्र बोर्डले यही असार ३० गते नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३ र आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा सोको कार्यान्वयन योजना सार्वजनिक गरेको थियो ।
बोर्डको नीति तथा कार्यक्रममा पुँजी बजारमा नयाँ उपकरण तथा सेवा विविधीकरण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
बोर्डका कार्यक्रमहरूलाई प्रभावकारीरूपमा सम्पादन गरी बजार विकास तथा सुधारको कार्य अगाडि बढाउन भन्दै बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले धितोपत्र बजारको प्रमुख पूर्वाधार निकाय नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) र सिडिएस एन्ड क्लिरिङ्ग लि. (सिडिएससी) का उच्च पदस्थ पदाधिकारीसँग छलफल गरेका हुन् ।
आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीतिमा समाविष्ट भई नेप्से तथा सिडिएससीबाट सम्पादन हुनुपर्ने कार्यहरूमा छलफल केन्द्रित गरिएको बोर्डले जनाएको छ ।
छलफलमा बोर्डका अध्यक्ष भट्टले बजार विकासका लागि बोर्डको नीतिमा उल्लेख गरिएका विषय र सम्बन्धित कार्यक्रमको ठोस कार्ययोजना तयार गरी बोर्डमा यथाशीघ्र पेश गर्न निर्देश दिएका छन् ।
साथै सर्ट सेलिङ सेवा सञ्चालन व्यवस्था मिलाउनका लागि गर्नुपर्ने कानुनी सुधार तथा संरचनागत (जनशक्ति र प्रविधि) को आवश्यकता पहिचानसहित यथाशीघ्र कार्य अगाडि बढाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न बोर्ड सबै प्रकारको सहजीकरणको लागि तयार भएको समेत अध्यक्ष भट्टले जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्