काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ३७ बुँदे मार्गनिर्देशन जारी गरेको छ ।
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ ।
विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।
सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्वस्वीकृति लिन मार्गदर्शनमा भनिएको छ ।
मार्गनिर्देशमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ ।
अर्थ मन्त्रालयले मार्गनिर्देशनमार्फत सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रम तोकिएको सम्झौता र निर्देशिकाभन्दा बाहिर गएर खर्च नगर्नसमेत भनेको छ ।
मार्गनिर्देशनमा बजेटको दोहोरोपना र बेथिति रोक्न सूचना प्रणाली (एलएमबीआईएस) को प्रयोग र नियमित अनुगमनमा जोड दिएको छ ।


प्रतिक्रिया दिनुहोस्