काठमाडौँ । अनुसन सुरु गरेका अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल कलेज सञ्चालकलाई माफिया भन्दै सिट सङ्ख्याको पनि विरोध गरेपछि निजी मेडिकल सञ्चालकहरू प्रतिवादमा उत्रिएका छन् ।
उनीहरूले ‘माफिया’ भनेकोप्रति गम्भीर आपत्ति जनाउँदै भर्नाको मुखमा सधै अनुसन बस्नुको कारणसमेत सोधेका छन् । उनीहरूले बहसमा आउन डा.चुनौतीसमेत दिएका छन् ।
बिहीबारदेखि अनुसन सुरु गरेका डा. केसीले आफ्नो विज्ञप्तिमा, ‘विडम्बनापूर्ण कुरा के छ भने मुलुकमा सरकारीभन्दा न्यूनतम मापदण्ड समेत नपुगेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको सङ्ख्या धेरै बेसी छ । वर्तमान सरकारको चिकित्सा शिक्षा र स्वास्थ्य नीति निर्धारण,कार्यान्वयन तथा सार्वजनिक संस्थानहरूको पदपूर्तिमा समेत निजी मेडिकल माफिया र तिनका प्रतिनिधिहरूको प्रत्यक्ष प्रभुत्व स्पष्ट देखिन्छ’ भनेका छन् ।
चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार विना नै निजी कलेजहरूलाई पुनः सिट वृद्धि गर्ने प्रस्तावहरू तत्काल खारेज गर्न डा. केसीको माग छ ।
धनगढीमा अनसन सुरु गरेका डा. केसीले निजी मेडिकल कलेज सञ्चालकलाई माफिया भन्दै विद्यार्थी सिट सङ्ख्या बढाउने प्रस्ताव खारेज गर्न भनेपछि निजी मेडिकल कलेजका सञ्चालक प्रतिवादमा उत्रिएका हुन् । एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले भने,“हामी अरबौँ रुपैयाँ लगानी गरेर मेडिकल शिक्षामा योगदान पुराउँदै आएका छौँ । हामीलाई यीनले किन पटकपटक माफिया भनेका छन् ? के हाम्रो अर्बौ रुपैयाँ लगानीको जिम्मा लिन्छन् ?”
डा. कार्कीले केसीजस्ता व्यक्तिहरूकै कारण निजी क्षेत्रको लगानीप्रति नकारात्मक धारणा बढिरहेको टिप्पणी गरे । उनले भने,“यस्तै कारणले नेपालमा निजी क्षेत्रको लगानीमाथि नेपालमा सकारात्मक धारणा बन्न सकेको छैन । लगानी गर्ने मान्छे माफिया हुन्छ ?”
मेडिकल कलेज सञ्चालकहरूले नेपालमा मेडिकल शिक्षामा ठुलो सङ्ख्यामा विद्यार्थी पढाएर विदेशी रकम भित्र्याउन सकिने बताउँदै आएका छन् । यसका लागि सरकारले पहल गर्नुपर्ने र मापदण्ड पुरा गर्नुपर्ने निजी मेडिकल कलेजले माग गर्दै आएका छन् । देवदह मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले भने,“ नेपालमा विद्यार्थी भित्र्याउन सकिने भनेको मेडिकल शिक्षा क्षेत्र हो । यसका लागि सरकारले मापदण्ड तय गरोस्, हामी तयार छौँ तर कुनै व्यक्तिले विरोध गरिरहनुको कुनै अर्थ छैन ।”
सधै भर्नाको बेला अनसन
डा.केसीले सधै भर्नाको मुखमा अनसन बस्ने गरेको र यो विषय रहस्यमय भएको मेडिकल कलेज सञ्चालकहरूले टिप्पणी गरेका छन् । यसपटक पनि शैक्षिक शत्र २०२६ को भर्नाको तयारी भइरहेका बेला डा. केसीले अनसन सुरु गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको निरीक्षण गरेर कोटा तोकेपछि भर्ना प्रक्रिया सुरु हुन्छ । आयोगले प्रक्रिया सुरु गर्ने तयारी गरिरहेकै बेला डा. केसीले अनुसन सुरु गरेका हुन् ।
बिराट मेडिकल कलेजका सञ्चालक समेत रहेका डा. कार्कीले भने,“ यी मान्छे अन्य १० महिना चाहीँ के गर्छन् ? जब भर्नाको समय आउँछ ठ्याक्कै २ महिनाअघिदेखि विरोध र अनसनमा हुन्छन् ।”
डा. कार्कीले आफूहरूले यो विषय अब नसहने स्पष्ट पारे । उनले भने, “ मेडिकल कलेजमा केके पुग्दैन ? केके आवश्यक पर्छ ? सरकारले आफ्नो मापदण्ड तय गरोस्,हामी पुरा गर्न तयार छौँ तर अर्बौ लगानी गरेको क्षेत्रमाथि यो खालको ज्यादी हामी सहदैनौँ ।”
मेडिकल कलेज सञ्चालकहरूले भर्नाकै बेला किन अनसन बसेको हो आफूले नबुझेको बताउने गरेका छन् । उनीहरूको प्रश्न छ,“हाम्रा विद्यार्थीलाई विदेशमै पठाउन मन छ कि ? विदेशबाट नेपालमा विद्यार्थी पढ्न नआउन् भन्ने छ कि स्पष्ट पार्नुप¥यो नि । विद्यार्थीको सिट सङ्ख्या बढ्दा के फरक पर्छ ? जति विद्यार्थी सिट बढ्छ उति छात्रवृत्ति पनि बढ्ने हो । ”
बहसका लागि निम्तो
मेडिकल सञ्चालकहरूले डा. केसीलाई वहसका लागि निम्तोसमेत गरेका छन् । निजी मेडिकल सञ्चालकलाई पटकपटक माफिया भनेर लान्छित गरिएको भन्दै यसलाई तत्काल रोकेर वहसमा आउन उनीहरूको आग्रह छ ।
डा. कार्कीले भने,“मेडिकल क्षेत्रलाई माफिया भनेको छ, फटाहा भनेको छ, यी मान्छेसँग गर्ने कुनै योजना र बोल्ने शब्द नै छैन । विरोध गर्यो बस्यो । दम छ, भने हामीसँग सम्बाद गरोस् न ।”
यो यति ठुलो लगानी भएको क्षेत्रलाई लान्छित गर्ने अधिकार कसले दियो ? भन्दै उनले प्रश्न गरे ।
अध्यक्ष डा.कार्कीले भने,“डा.केसीले अति गरे, अब बहस गरौँ,उनको कुरा हामीलाई ठिक लागे हामी उनको पछि लाग्छौँ, हाम्रो कुराले उनी कन्भिन्स भए बालवृद्ध हठ छाड्नु पर्छ । कही कमजोरी छन् भने हामी सुधार्छौँ ।”
डा. केसीले २० वर्ष पहिलेकै कुरा बोकेर हिँडेको आरोप मेडिकल कलेज सञ्चालकहरूको छ । उनलाई पूर्वदेखि पश्चिमसम्म सरकार र नीजि मेडिकल कलेज सबै निरीक्षण गर्न चुनौती पनि दिएका छन् ।
“२० वर्ष पहिलेकै कुरा बोकेर हिँडेर त हुँदैन होला ? नेपालमा मेडिकल कलेज क्षेत्रले गरेको प्रगति, आधुनिकरण, सुधार, जनशक्ति कहिल्यै बझु्नै नचाहने ? जब भर्नाको समय आउँछ तब आएर म अनसन बस्छु भन्ने,” डा. कार्कीले भने,“मेचीदेखि महाकालीसम्म हेरौँ न,अवस्था के छ निरीक्षण गरौँ उनीहरूको पूर्वाधार हेरौँ, लगानी हेरौँ, जनशक्ति हेरौँ, विद्यार्थीसँग अन्तरक्रिया गरौँ, त्योबाट जे नतिजा अँछ त्यसबाटै एउटा धारणा बनाएर गए भयो नि त भर्नाको बेला यीनको के मनस्थिति हुन्छ र अनसन बस्छु भन्छन् ?”


प्रतिक्रिया दिनुहोस्