काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्णता पाएको छ । परिषद्मा मनोनित सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गरिएसंगै परिषद्ले पूर्णता पाएको हो ।
परिषद्मा मनोनित सदस्यहरूलाई बुधवार एक कार्यक्रमबिच महासङ्घका कार्यवाहक अध्यक्ष सुरकृष्ण बैध र परिषद्का सभापति नरेशलाल श्रेष्ठले औपचारिक पत्र हस्तान्तरण गरे । परिषद्मा वस्तुगत सङ्घ समूहबाट निर्वाचित उपाध्यक्ष सभापति रहने व्यवस्था महासङ्घको विधानमा छ । परिषद्को पहिलो बैठकबाट परिषद्को उप–सभापतिमा कार्यकारिणी समिति सदस्य भक्त बहादुर हमाल चयन भएका छन् ।
महासङ्घको विधानमा जिल्ला नगर, वस्तुगत र रोजगारदाता गरी तीनओटा परिषद्को व्यवस्था गरिएको छ ।
मनोनयन पत्र हस्तान्तरण समारोहलाई संवोधन गर्दै कार्यबाहक अध्यक्ष वैधले वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।
वस्तुगत उपाध्यक्ष एवं परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासङ्घका वस्तुगत सदस्य सङ्घहरू नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै परिषद्ले उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउने विश्वास व्यक्त गरे ।
उनले परिषद्का सदस्यहरूले आ–आफ्नो क्षेत्रको अनुभव, सुझाव र नीतिगत धारणा महासंघमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरी निजी क्षेत्रको हित संरक्षण र प्रवर्धनमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।
परिषद्मा वस्तुगत सङ्घहरूबाट निर्वाचित भएर आउने कार्यकारिणी समिति सदस्यहरू स्वतः सदस्य हुन्छन् भने निर्वाचित सदस्यको पचास प्रतिशत सदस्य सम्बन्धित सङ्घ सदस्य मध्येबाट मनोनित गर्ने व्यवस्था छ । साथै परिषद्मा आवश्यकता अनुसार आमन्त्रित सदस्य र सल्लाहकार पनि मनोनित गरिन्छ ।
वस्तुगत परिषद्ले महासङ्घका सदस्य वस्तुगत सङ्घबिच आपसी समन्वय एवं समझदारी कायम गरी आफ्नो वर्गको उत्थान, विकासमा मुख्य भूमिका निर्वाह गर्दछ । साथै आफ्नो वर्ग र क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्ने तथा त्यसबाट प्राप्त निश्कर्ष एवं सुझावहरू कार्यान्वयनका लागि महासङ्घ समक्ष पेश गर्ने कार्य गर्दछ ।
महासङ्घमा हाल विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने वस्तुगत सदस्य सङ्घहरूको सङ्ख्या १ सय ४२ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्