काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले प्लाइउड निर्यातका अवरोध हटाउन निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिबिच शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा प्लाइउड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत छलफल भएको हो ।
भेटका क्रममा प्रधानमन्त्रीले प्लाइउड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होमप्रसाद दाहालले बताए ।
उनकाअनुसार प्लाइउड व्यवसायीहरूले यस क्षेत्रलाई नेपालको निर्यात व्यापारको एक प्रमुख हिस्साका रूपमा प्रश्तुत गर्दै यसका चुनौतीहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
व्यवसायीहरूले कच्चा पदार्थको आपूर्तिमा देखिएका समस्या, भारतीय गुणस्तर मापदण्ड र नेपाल गुणस्तर बीचको समकक्षता कायम गर्नुपर्ने आवश्यकता लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
विशेषगरी प्लाइउड, ढोका (डोर) र काठजन्य सामग्री निर्यातका लागि आवश्यक फाइटो स्यानिटरी र फ्युमिगेसन सर्टिफिकेटसम्बन्धी कार्यविधि नहुँदा निकासी प्रक्रिया रोकिएको विषयमा व्यवसायीहरूले जोड दिएका थिए । सरकारले अघि सारेको काठ निर्यातको योजनालाई सफल बनाउन सल्लो र अन्य हार्डउडजन्य सामग्रीको निर्यातका लागि आवश्यक कार्यविधि तत्काल तयार गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
यसैगरी, स्वदेशमा तयारी वस्तु उत्पादन गर्ने सम्भावना हुँदाहुँदै ठूलो परिमाणमा कच्चा पदार्थ बाहिरिरहेको विषयमा पनि छलफल भएको छ । यस सम्बन्धमा सरकारले आवश्यक परामर्श गरी ठोस कदम चाल्ने आश्वासन दिएको दाहालले बताए । प्रधानमन्त्रीको सक्रियतापछि निर्यातमा देखिएका क्वारेन्टाइनसम्बन्धी समस्याहरू छिट्टै समाधान हुनेमा व्यवसायीहरू आशावादी देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्